|

काठमाडौं : फेसबुकमा एक व्यक्तिले गरेको टिप्पणीको प्रतिवादमा प्रयोग गरिएको भाषाशैलीका कारण प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बरालको आलोचना भएको छ।

विराट अनुपम नामका व्यक्तिले काउन्सिल अध्यक्षमा बरालको नियुक्तिपछि फेसबुकमा गरेको टिप्पणीको प्रतिवाद गर्दै बरालले स्टाटस लेखेका थिए। उनले प्रयोग गरेको भाषाशैलीका कारण सामाजिक सञ्जालमा आलोचना भएको हो। आलोचनापछि बरालले फेसबुक डिएक्टिभेट गरेका छन्। 

के लेखेका थिए विराटले?

बिहीबार फेसबुकमा पोस्ट गरेको स्टाटसमा विराट अनुपमले लेखेका थिए-

हिजो राजाको कदमको धरानको भानुचोकमा दिप प्रज्वलन गरेर स्वागत गर्ने, कहिले एमालेको अखिल, कहिले माओवादीको पत्रकार संघसंगठन र कहिले लिम्बूवानमा कुद्ने भवानी बराल आज माओवादीकै क्याबिनेटबाट प्रेस काउन्सिल अध्यक्ष सिफारिस ! यो निर्णयले युद्ध बाटै माओवादीको डोके रेडियो बोक्ने, युद्धमा पत्रकारिता गर्ने र माओवादीको अर्गानिक सपोर्ट गर्ने अग्रज र अनुभवी पत्रकारहरु के सोच्दै होलान् ?

यो स्टाटसको प्रतिवादमा अध्यक्ष बरालले शनिबार दिउसो ११:५७ मा विराट अनुपमलाई ‘बाहुनवादी खिच्चा कुकुर’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए। उक्त टिप्पणीबारे ‘लेख्न मन नभएको’ उल्लेख गर्दै उनले लेखेका थिए-

बाहुनवादी खिच्चा कुकुर

विराट अनुपम नामको खिच्चा कुकुरले मेरो विषयमा केही कुरा लेखेर मेरो विषयमा भ्रम छरेछ। मैले त्यसको विषयमा लेख्ने मन थिएन। तर एकजना जिम्मेवार साथीले त्यसको स्टाटस हेर्नु भन्नु भएपछि मैले हेरेँ। मलाई त्यो भन्दा अगाडि पनि धेरै कुरा त्यसले लेखेको थियो। त्यो खिच्चा कुकुर जस्तो भुक्दै हिँडने म हैन। म लिम्बुवानको समर्थक हो। म धरानको पहिलो माओवादी पनि हो। त्यो खिच्चाले इतिहास हेरे हुन्छ। म प्रेस काउन्सिलमा भए पनि मैले त्यो विचार छोडने कुरा आउँदैन। मैले ज्ञानेन्द्रलाई समर्थन गरेको बिजुली बालेको कुरा पनि साँचो हो। मैले प्राविधिक रुपमा बच्नको लागि गरेकै हो। त्यसमा विराट अनुपम जस्तो खिच्चा कुकुरले भुकिरहनु पदैन। बरु त्यो खिच्चा कुकुर कुन विचारको त्यसले आफै भने हुन्छ। म अहिले पनि आदिवासी उत्पीडितको पक्षमा छु/हुन्छु। ज्ञानेन्द्रले राम्रो गरे भने म उनको समर्थनमा हुन्छु। तर म जनयुद्धको समर्थनमा हुँदा विराट अनुपम नामको खिच्चा कुकुर कहाँ थियो मलाई सब थाहा छ। म माले पार्टीको पहिलो संगठक हुँ। म माले अखिलको पहिलाो जिल्लाको अध्यक्ष हुँ। म लिम्बुवानको अभियन्ता हुँ। प्रेस काउन्सिलमा हुँदा पनि मेरो राजनीतिक भूमिका त्यसैतर्फ केन्द्रित हुन्छ। कुनै एउटा टपरे बाहुनले विरोध गर्दैमा मेरो विश्वास टुट्दैन। हात्ती लम्किरहन्छ, खिच्चा कुकुर भूकिरहन्छ। यति सम्झनुस् अहिलेलाई।

कस्ता आए प्रतिक्रिया?

विराट अनुपमको स्टाटसको प्रतिक्रियामा प्रेस काउन्सिल अध्यक्ष बरालले फेसबुकमा लेखेको माथिको पोस्टको फेसबुक र ट्विटरमा आलोचना भएको छ। आलोचना गर्नेमा अधिकांश प्रत्रकार नै छन्।

पत्रकार लक्ष्मण कार्की फेसबुकमा बराललाई सुझाव दिएका छन्-

भवानी बरालसँग मेरो प्रत्यक्ष चिनापर्ची छैन तर नाम धेरै सुनेको छु। उहाँ अहिले नेपाली पत्रकारिता र पत्रकारको नियामक निकाय प्रेस काउन्सिलको अध्यक्ष बन्नुभएको छ। तर उहाँको लेखाइको यो स्तर र औकात देख्दा मेरा कन्सिरी तातेका छन। यो शैली र औकात तपाईँको अहिलेको हैसियतसँग एक थोप्पो पनि मेल खाँदैन बराल सर। (अझ प्रेस काउन्सिलको अध्यक्षको तुजुक पनि ठाउँठाउँमा देखाउनु भएको रहेछ) एकचोटी सम्झाउँ कि तपाईँका विचार गतिविधि वा लेखोटसँग हाम्रो गरिमामय संस्था प्रेस काउन्सिल पनि जोडिन्छ। तपाईँले पदको गरिमा र मर्यादा राख्‍न सक्नुहुन्न भने तपाईसँग कसैलाई नैतिकता र व्यवसायिकताको गोर्खेलौरी हान्ने अधिकार पनि रहन्न (मलाई थाहा छ कि यत्ति कुरो तपाईँलाई पनि थाहा छ) त्यसैले झट्टै माफी माग्नुस् र यस्तो नदोहोरिने बाचा गर्नुस्।

नरेन्द्रजंग पिटर फेसबुकमा लेख्छन्-

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बरालले नियुक्तिको तेस्रो दिन नबित्दै आफ्नो गरिमा बिर्सेर जुन शब्द, भाव र आशय ब्यक्त गर्नु भयो, त्यो असोभनिय र निन्दनीय छ। त्यस गरिमामय पद आफैमा मिडिया अभिभावक र न्यायाधीश हो भने त्यस थलोमा यस पहिला कयौँ मुर्धन्य ब्यक्तित्वहरू रहिसक्नु भएको हेक्का राख्नु पर्छ। उहाँले सरोकारवालासँग माफी माग्न उपयुक्त हुन्छ।

जगदिश अधिकारी ट्विटरमा लेख्छन्-

यी केही प्रतिनिधिमूलक प्रतिक्रिया हुन्। फेसबुक/ट्‍विटरमा बरालको भाषाशैलीको आलोचनामा यस्ता कयौँ पोस्ट गरिएका छन्।

के भन्छन् अध्यक्ष बराल?

गत बिहीबार प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएका बरालले आइतबार बदबहाली गरेका छन्। भर्खर कार्यभार सम्हालेका बरालले विराट अनुपम नामका व्यक्तिलाई आफूले नचिनेको र पटकपटक आफूविरुद्ध उत्रेपछि प्रतिवाद गरेको प्रतिक्रिया दिए।

‘ऊसँग मेरो चिनजान छैन। बोलचाल पनि भएको छैन। परपरबाट मात्रै चिन्छौं’, अध्यक्ष बरालले थाहाखबरसँग भने, ‘ऊ मेरो विरुद्ध ५ वर्ष पहिलेदेखि लेखिरहेको थियो। जे लेख्छ मेरोविरुद्धमा मात्रै लेख्छ। उत्कर्षमा पुगेपछि मैले पनि लेखेको हुँ।‘

अहिले बरालको फेसबुक अकाउन्ट डिएक्टिभेट छ। त्यसबारे प्रश्न राख्दा बरालले भने- ‘हात्ती लम्कँदै गर्छ भन्ने उखान लेख्दा अरु पनि आएको हो। त्यसपछि मैले फेसबुक चलाउने छोडिदिएँ। केही समय फेसबुक चलाउँदिन।‘फेसबुक डिएक्टिभेट गरेपछि राम्रो प्रतिक्रिया पाएको उनले बताए। ‘फेसबुक नचलाउने निर्णय गरेपछि धेरैले ठीक गर्नुभयो भनिरहेका छन्’, उनले भने।

कतिपयले बरालले प्रयोग गरेको शब्द खिच्चाको अर्थ नबुझेको ट्विटरमा लेखेका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली वृहद् शब्दकोषका अनुसार खिचा वा खिच्चा नेवारी शब्द हो। शब्दकोषमा यसको दुईवटा अर्थ दिइएको छ।

पहिलो- कुकुर। दोस्रो- सानो कुरामा पनि झगडा गर्ने मानिस।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.