|

सल्यान : तिहारका लागि हुने फूल टिप्न र माला उन्न सल्यानका फूल खेती गर्ने किसानलाई यति वेला भ्याइनभ्याई छ। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै मखमली, सयपत्री जस्ता फूल टिप्न र माला बनाउन पुष्प व्यवसायी व्यस्त बनेका छन्।

३ महिनाअघि किसानले रोपेको फूल यति वेला ढकमक्क फूलेको छ। किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त हुन थालेका छन्।

तिहार नजिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफूहरू व्यस्त बनेको ओजी एग्रो एण्ड टुरिज्मका सञ्चालक मोहन वलीले बताए। ७ रोपनीमा लगाएको फूल टिप्न यतिखेर आफू व्यस्त रहेको उनको भनाई छ।

४ लाख रूपैयाँको लगानीमा शारदा नगरपालिका-२ जोगिदेउखोलामा फूल खेती गरेका वलीले दैनिक ३ देखि ४ सयसम्म मालाको अर्डर आउने गरेको बताए। ‘जिल्लामै  ग्राहकहरूको मागअनुसार फूल पुर्‍याउन सकिँदैन कि भन्ने चिन्ता पो लाग्न थालको छ‚’ उनले भने।

सयपत्री फूलको माला एउटाको १ सय ५० रूपैयाँ‚ किलोका हिसाबले ४ सय रूपैयाँ र मखमली माला एउटाको २ सय ५० रूपैयाँका दरमाले बिक्री भइरहेको वलीको भनाई छ।

सयपत्रीभन्दा मखमली फूल लामो समय टिक्ने भएकाले सयपत्रीको तुलनामा मखमली फूलको माग धेरै आउने गरेको उनले बताए।

साथी पुष्प फर्मका सञ्चालक धिरेन्द्र हमालले अहिले ग्राहकहरूको अर्डर लिने काम भइरहेको बताए। अहिले पार्टी, विवाह, भोज तथा कार्यक्रममा गइरहेको बताउँदै कात्तिक ५ गतेदेखि ग्राहकले दिएको अर्डरअनुसार वितरण शुरु गरिने हमालको भनाई छ।

जिल्लामा पहिलो पटक ठूलो क्षेत्रफलमा फूल खेती भएकाले टिकटक बनाउनेहरू आउँदा बजारीकरण गर्न मद्दत पुगेको उनको भनाई छ। उनले भने‚ ‘टिकटकमा देखेपछि जिल्ला बाहिरबाट फूलको माग धेरै आउने गरेको छ।’

विशेषगरी, दाङ, नेपालगञ्ज, बाग्लुङ, काठमाडौं र सुर्खेतबाट माग आएको भएता पनि पहिलो प्राथमिकतामा जिल्लालाई नै राखिएको उनको भनाई छ।

सरकारले प्लाष्टिकजन्य माला नियन्त्रण गर्न सके फूल खेती गर्दै आइरहेका किसानलाई उत्साह थपिने पुष्प व्यवसायीहरूको भनाई छ।

कृत्रिम मालामा जोड दिनुभन्दा गाउँघरमा पाइने माला प्रयोगमा जोड दिन सके स्वास्थ्य, वातावरण र आर्थिक हिसाबले सबैलाई फलदायी हुने हमालको धारणा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.