|

काठमाडौं : दोस्रो चरणको स्थानीय चुनावमा मिलेर भाग लिने विषयमा मधेसकेन्द्रित तीन दलका शीर्ष नेताबीच छलफल भएको छ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष महन्थ ठाकुरबीच चुनावी रणनीतिका विषयमा छलफल भएको हो।

ठाकुर निवास सानो ठिमीमा झण्डै डेढ घण्टा चुनावमा मिलेर जाने विषयमा छलफल भएको स्रोतले जनाएको छ। बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवले चुनावमा मिलेर जान प्रस्ताव गरेकोमा गच्छदारले सहमति जनाएको तर ठाकुरले चुनाव चिह्न नभएकोले आफ्नो पार्टी कसरी चुनावमा जाने भन्ने अन्यौलमा रहेको बताएको स्रोतले जनाएको छ।

‘बैठकमा चुनावलाई कसरी रणनीतिक रुपमा उपयोग गर्ने भन्ने बारेमा छलफल भयो’, स्रोतले थाहासंचार नेटवर्कलाई भन्यो– ‘तिनै नेताबीच मिलेर चुनावमा जाने विषयमा मोटामोटी एकमत देखिएको छ। तर केही कठिनाई देखिएका छन। त्यसबारे थप छलफल हुन्छ।’

छलफलका क्रममा ठाकुरले उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई चुनाव चिह्न दिलाईदिनका लागि सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा गच्छदारले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएको स्रोतले जनाएको छ। एकैचोटी ठाकुरलाई भेट्न पुगेका यादव र गच्छदार बैठक सकिएपछि सँगै फर्किएका थिए। तीन नेताबीच छलफल भएपछि राजपाले आन्दोलन या चुनाव के रोज्ने भन्ने विषयमा बिहीबार निर्णय नगर्ने स्रोतको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.