|

पर्वत : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्डकपको २२ औँ संस्करण पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुँदै छ।

धेरै खर्च लाग्ने खेल हरेक वर्ष सहारा क्लबले कसरी आयोजना गरिरहेको होला भन्ने चासो सबैको मनमा हुन सक्छ।

गोल्डकपका लागि आवश्यक पर्ने बजेट मुख्य प्रायोजक र प्रायोजकहरूबाट सङ्कलन गरेर यसअघिका संस्करणहरूमा जस्तै २२ औँ संस्करणका खेल खेलाउन लागिएको छ।

क्लबका अनुसार विगतका दुई दशक आहा र रारा चाउचाउको उत्पादक हिमश्री फूड्स प्रा.लि.ले मुख्य प्रायोजनको भूमिका निर्वाह गर्दै आयो। हिमश्रीले मुख्य प्रायोजन गरेपछि गोल्डकपको नै त्यही हिमश्रीका उत्पादन आहा र रारा चाउचाउको नाममा रहँदै आएको छ।

अघिल्लो वर्ष भएको २० औँ संस्करण समाप्त भइसक्दा मुख्य प्रायोजक हिमश्री फूड्स र सहारा क्लब पोखराबीचको सम्झौता समाप्त भयो।

फेरि पनि आगामी १० वटा संस्करणसम्मका लागि मुख्य प्रायोजन गर्ने गरी क्लब र फूड्सबीच नयाँ सम्झौता भएको छ। योसँगै क्लब र फूड्सबीचको सहकार्य ३० वर्ष पुग्ने भएको छ।

नेपालको फुटबल इतिहासमा सम्भवतः यो नै सबैभन्दा दीर्घकालीन सम्झौता भएको हुन सक्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारी बताउँछन्। उनका अनुसार समाजसेवी, उद्योगपति एवं पूर्व सांसद स्व. सूर्यबहादुर केसीको विशेष पहल र सक्रियतामा २०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षे सम्झौता भएको थियो।

२०६९ देखि २०७८ सालसम्म आयोजना हुने संस्करणका लागि दोस्रोपटक ‘आहा! रारा गोल्डकप’ नामकरण गरेर थप १० वर्षे करार सम्झौता भयो। दोस्रोपटक भएको सम्झौताले नै २०७८ सालसम्मका खेल सम्पन्न भए।

अब तेस्रोपटक द्विपक्षीय सहमतिमा पर्यटकीय शहर पोखराको अपनत्व स्वीकार गरी २०७९ देखि २०८८ सालसम्मका प्रतियोगिताहरू ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको नामबाट निरन्तर रूपमा सञ्चालन हुनेछ। २०५८ सालमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तरक्लब आमन्त्रित क्याराभान गोल्डकप फुटबल प्रतियोगिता सहित आगामी संस्करणदेखि उक्त प्रतियोगिताको नाम ‘आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’ को नामबाट हुनेछ।

यसका लागि सहारा क्लब पोखरालाई मुख्य प्रायोजक हिमश्री फूड्स प्रा.लि.ले वार्षिक रूपमा आगामी पहिलो ३ वर्ष १८ लाख, दोस्रो ३ वर्ष २१ लाख, तेस्रो ३ वर्ष २४ लाख र वि.सं.२०८८ सालमा २७ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। त्यस्तै प्रतियोगिताको व्यवस्थापकीय पक्षलाई मद्देनजर गरी अतिरिक्त आन्तरिक खर्चबापत हिमश्री फूड्सले नै वार्षिक रूपमा पहिलो प्रत्येक ३ वर्ष एकमुष्ट ४ लाख ५० हजार, दोस्रो प्रत्येक ३ वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक ३ वर्ष ६ लाख २५ हजार र अन्तिम ०८८ सालमा ७ लाख प्रदान गर्नेछ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा अभिवृद्धि गरी पोखरालाई स्पोर्ट हब सिटीको रूपमा परिचित गराउने यो प्रतियोगिता नेपालको फुटबल इतिहासमा मोफसलको सर्वाधिक चर्चित अविच्छिन्न सञ्चालन हुँदै आइरहेको छ। प्रतियोगिताबाट बचत हुने रकम कठिन परिस्थिति र विपन्न वर्गका प्रशिक्षार्थीहरू सम्मिलित स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ।

उक्त एकेडेमीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले केसी परिवारबाट सहारा क्लबलाई १० वर्षसम्म वार्षिक १५ लाखका दरले सहयोग गर्ने सम्झौता पनि भएको छ। त्यसैअनुसार गत दुई वर्षको किस्ता ३० लाख रुपैयाँ प्राप्त भइसकेको पनि सहारा क्लबले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.