|

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाउँदा आयल निगमलाई महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफा छ।

गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटा समाचार लेख्छिन्, एक वर्षअघि रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य पछिल्लो समय घट्दै आएको छ। गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ। 

हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपैयाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ ३५ पैसा, हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा छ। निगमलाई ग्यासमा मात्र प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा छ। 

हाल बजारमा पेट्रोल प्रतिलिटर १८१, डिजेल÷मट्टितेल १७८, हवाइ इन्धन आन्तरिक १९० र खाना पकाउने (एलपी) ग्यास एक हजार आठ सय रुपैयाँ छ। हाल छिमेकी मुलुक भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर छ रुर्पयाँ २३ पैसा र डिजेल २४ रुपियाँ ५६ पैसा महँगो छ।

समायोजन नभएको तीन महिना भयो

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि नेपाल आयल निगमले स्थानीय बजारमा मूूल्य समायोजन गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा घटेअनुसार मूल्य समायोजन नगर्दा निगम हाल मासिक सवा अर्ब रुपियाँ नाफा कमाउँदै आएको छ । निगम नाफामा हुँदा पनि ऋण देखाएर उपभोक्ता मूल्य घटाउन आनाकानी गरिरहेको छ। 

निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट रिफाइन तेल खरिद गर्दै आएको छ। आईओसीले दिएको मूल्यका आधारमा स्थानीय बजारमा मूल्य सामायोजन गर्नुपर्ने भए पनि तीन महिनायता मूल्य समायोजन भएको छैन।  

बक्यौता र ऋण तिर्न भाउ नघटाएको : निगम 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढका कारण अस्थिर भएको र आईओसीलाई ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको जानकारी दिए। ‘अहिले पेट्रोल र हवाइ इन्धनमा नाफामा छौँ, यसमा घटाउन सकिने थियो तर ग्यासमा प्रतिसलिण्डर र २७७ रुपैयाँ घाटा रहेकाले पनि व्यवस्थापन गर्न मूल्य यथावत् राखेका हौँ’, उनले भने।  तेल खरिद गरेबापत आईओसीको २० अर्ब रुपियाँ र नेपाल सरकारको ऋण सात अर्ब ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको उनले बताए। अब मूल्य घटेर आए घटाउने उनको भनाइ छ। 

सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ घटाएको मूल्य ‘रिकभर’ नभएकाले घटाउन नसकेको निगमको दाबी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.