|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आइतबारसम्म जारी थियो। 

तर, नेपालको बौद्धिक वर्गको प्रतिनिधि संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानले आचारसंहिता लागू भएकै समयमा सबै ‘प्रक्रिया पूरा गरी’ दुई जनालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरी आइतबार नै प्रज्ञा सभा बोलाएर अनुमोदन गरेको छ। यसो गर्दा प्रज्ञा–प्रतिष्ठानले मङ्सिर ४ गते निर्वाचन सकिएलगत्तै आचारसंहिता हटिसकेको आफैँ व्याख्या गर्दै आइतबार निर्णय अनुमोदन गरेको हो।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, प्रतिष्ठानका निमित्त सदस्यसचिव डा. हेमनाथ पौडेलले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि गरिएको आजीवन सदस्यतासम्बन्धी निर्णय पूर्ण रूपमा कानुनसम्मत रहेको दाबी गर्दै प्रज्ञा सभाले सर्वसम्मतिले सो निर्णय अनुमोदन गरेको बताए। ‘निर्वाचन ४ गते सम्पन्न भएको हो भने प्रतिष्ठानले सो निर्णय मङ्सिर ७ गते गरेको हो’,  उनले भने, ‘आजीवन सदस्यता दिनेसम्बन्धी प्रतिष्ठानका कामकारबाही ऐन नियमअनुसार नै गरिएको हो।’

आचारसंहिता जारी रहेकै बेला निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती र आरडी प्रभाष चटौतलाई प्रज्ञा–प्रतिष्ठानबाट आजीवन भत्ता खाने गरी गरिएको निर्णयको प्राज्ञ र अन्य साहित्यकारबाटै विरोध भएको छ। निर्णय अनुमोदनका लागि बोलाइएको सभामा प्रज्ञाका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा आउने भनी निम्ता गरिए पनि उनी उपस्थित भएनन्। 

यसैबीच नेपाली लेखक संघले नेपाल प्रज्ञा–प्रतिष्ठानले साउनमा गरेको प्राज्ञ सभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को सभा राखेको भन्दै विरोध गरेको छ। मूल नेतृत्वको कार्यकाल सकिएर निमित्तद्वारा प्रतिष्ठान सञ्चालन भइरहेका बेला कामचलाउ परिषद्ले राज्यकोषबाट कसैलाई आजीवन तलब सुविधा उपलब्ध गराउने निर्णय गरी अनुमोदनका लागि सभा बोलाउनु खेदजनक भएको संद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.