|

सर्लाही : करिब ४१ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा हुलाकी सडक आसपासका सर्वसाधारण खानाको गाँससँगै धुलो खान बाध्य छन्।

पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटस्थित हुलाकी सडक कालोपत्रे भइसक्दा पनि सर्लाहीमा पर्ने सडक निर्माण नहुँदा सडक आसपासका नागरिक सास्ती खेप्न बाध्य भएका हुन्।

ठेकेदार कम्पनीलाई दबाब दिन स्थानीय बासिन्दाले पटक–पटक सडकमा अवरोध गर्दै आइरहेका छन्। सोमबार) पनि मलंगवा–२ कृष्णचोकमा स्थानीयले टायर बालेर सडकमा अवरोध गरेका छन्। सडक अवरोध पहिलो नभएर चौथोपटक हो। प्रतिनिधि सभा र प्रदेश सभा चुनावको केही दिनअघि कौडेनाका बासिन्दाले ‘नो रोड, नो भोट’ को नारा लगाउँदै हुलाकी सडक अवरुद्ध पारेका थिए। केही दिनअघि मात्र कौडेनाको मुसैलीमा स्थानियले तुरुन्त सडक निर्माणको काम अघि बढाउन माग गर्दै चक्का जाम गरेका थिए।

आन्दोलन मत्थर पार्न ठेकेदार कम्पनीले केही स्थानमा काम अघि बढाइरहेका छन्। बाँकी सडक अझै पनि कालोपत्रको पर्खाइमा छ। ठेकेदारले ठेक्का पाएको अवधिमा समय गुजार्नबाहेक केही काम नै नगरेको स्थानीयको दुखेसो छ।

सडक आसपासका नागरlकमा धुलोका कारण हुने समस्या देखा पर्न थालेको छ। धुलोकै कारण उनीहरूमा श्वासप्रश्वास, निमोनियाको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल मलंगवाले जनाएको छ। 

पछिल्लो समय हुलाकी सडकसडक आसपासका नागरिक श्वासप्रश्वासको समस्या लिएर अस्पताल आउने क्रम बढेको स्वास्थ्यकर्मीले बताएका छन् । यसरी श्वासप्रश्वासको समस्या भएर आउनेमा वृद्धवृद्धा र स्कुले विद्यार्थी छन्। हुलाकी सडक निर्माण कार्य आरम्भ भएको लामो समय भए पनि निर्माण सम्पन्न नहुँदा सडक आसपासका विद्यालयमा पाठन गर्ने सयौँ विद्यार्थी प्रभावित भएका हुन्।

सर्लाहीमा मात्र हुलाकी सडकले सदरमुकाम मलंगवा सहित भारतीय सीमा नजिकका ५० ग्रामीण बस्तीलाई छुन्छ। यस क्षेत्रमा पुस्ता परिवर्तन भएपनि सडक भने परिवर्तन हुनसकेको नागरिकको गुनासो छ। राणाकालमा निर्माण भएको हुलाकी सडकले काँचुली फेर्न नसक्दा यस क्षेत्रका स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य छन्।

जिल्लाको पूर्वी भाग संग्रामपुरदेखि पश्चिम बलरासम्मको हुलाकी सडकको अधिकांश भाग अहिले पनि कालोपत्रको पर्खाइमै छ। २०७३ सालमा पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र गर्न भनेर तीन प्याकेजमा ठेक्का लागेको थियो। ६४ करोडमा ठेक्का पाएको ठेकेदारको समयसीमा समाप्त भइसक्दा पनि सडकको अधिकांश भाग अहिले पनि जीर्ण नै छ। उनीहरू म्याद थप गराउँदै कछुवाको गतिमा काम अघि बढाइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.