|

सुर्खेत : पुल निर्माण सम्झौतापूर्व नै  हुम्लाको लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन्।

पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन। हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयवासीले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन्।

नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँ जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णाली नदीमा काठेपुल निर्माण गरेको बताए। ‘स्थानीय उपभोक्ता समितिबाट पुल निर्माण गरिएको छ’, उनले भने, ‘लिमीको हल्जी र जाङगाउँमा गाडी गुडेको देखेपछि उधारो सम्झौतामा पुल निर्माण गरेका हौँ।’

नदीसम्म मोटरबाटो निर्माण भइसके पनि पुल नहुँदा तिलगाउँ सडक सञ्जालमा जोडिन सकेको थिएन। अन्य गाउँमा मोटर पुगेको देखेपछि गाउँलेले हतारिँदै सल्लीबाट काठ लगेर पुल निर्माण गरेका हुन्। गाउँलेले निर्माण गरेको २० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुलमा गाडी ओहोरदोहोर गर्न थालिसकेको छ। 

डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रममा पुल निर्माणको स्वीकृत योजना छ। पुल निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। योजनामा परेकाले बजेट प्राप्त हुने सुनिश्चित भएपछि उधारोमै काम गरिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपात भएपछि चिसोले काम गर्न नसकिने भएकाले सबैको सहमतिमा पुल निर्माण गरिएको बताए।

उनले अब डिभिजन वन कार्यालयसँग वडाले समन्वय गर्ने जनाउँदै उपभोक्ता समितिले चैतवैशाखमा मात्रै औपचारिक सम्झौता गर्ने बताए।

पुल निर्माणमा एक सय कामदारलाई संलग्न गराइएको छ। उनीहरूले १२ दिनमा पुल निर्माण सम्पन्न गरेका छन्। पुल निर्माणमा ३५ जना कामदार महिला थिए। प्रयोग गरिएका कामदारलाई रकम प्राप्त भएपछि मात्र भुक्तानी दिइनेछ। पुल निर्माणका लागि प्रयोग गरिएको मेसिनको ज्याला र निर्माण गरिएको ‘ग्याबिन’को पनि रकम उधारो नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.