|

विराटनगर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरू छलफल र बहसमा छन्।

प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले ठूलो दल बने पनि एक्लै उसको बहुमत पुगेन। सत्ता गठबन्धनसँग पनि बहुमत छैन।

त्यसो हुँदा प्रदेश १ मा एमालेले सरकार गठनको तयारी कसरी गरिरहेको छ? साथै संसदीय दलको निर्वाचन वा नेतृत्व चयनको तयारी कसरी भइरहेको छ भन्ने विषयमा रहेर नेकपा एमालेका नेता एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीहिक्मतकुमार कार्कीसँगथाहाखबरकर्मी सुजता लिम्बूले गरेको संक्षिप्त कुराकानी

निर्वाचन सम्पन्न भइसक्यो, मतपरिणाम पनि आइसकेको छ। पछिल्लो मत परिणामअनुसार प्रदेश १ मा एमाले ठूलो दल बनेको छ। सरकार बनाउने तयारी कसरी गरिरहनुभएको छ?

१ नम्बर प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा एमालेले ४३ प्रतिशत सिट जितेको छ। निर्वाचनमा एकल बहुमतको अपेक्षासहित चुनावमा उत्रिएका थियौँ। केही नितान्त प्राविधिक कुराले गर्दा हामीले बहुमत प्राप्त गर्न सकेनौँ। यद्यपि हामी सबैभन्दा ठूलो दल भएका छौँ।

हामी सरकार गठनका लागि औपचारिक प्रक्रिया प्रदेश प्रमुखले आरम्भ गर्नुहुन्छ। अहिलेसम्मको कानुनी संवैधानिक प्रक्रिया हेर्दा २९ गते राष्ट्रपतिलाई निर्वाचन आयोगले सम्पूर्ण विवरण बुझाउँछ। त्यसपछि उहाँहरूले सबै प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रणाली औपचारिकरूपमा बुझाएपछि त्यसको एक महिनाभित्र सरकार बनाउनुपर्छ। मलाई लाग्छ, यहाँ २ गते बुझाउने कुरा हुँदै छ। त्यसपछि प्रदेश प्रमुखले राजनीतिक परामर्श गर्नुहुन्छ।

अहिलेको अवस्थामा एक्लै बहुमत पुर्‍याउने दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने विकल्प सकिन्छ। हामीसँग दोस्रो विकल्प भनेको दुईभन्दा बढी दलहरू मिलेर सरकार बनाउन बहुमत पुर्‍याउनका लागि त्यो आह्वानको समय हुन्छ। त्यसबाट हामी कुनै दुई वा दुईभन्दा बढी दलहरू मिलेर पेश गर्छौं।

​त्यसपछि सरकारको मुख्यमन्त्री बन्छन् र उनले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ। त्यो बाटो नै हाम्रा लागि पहिलो विकल्प हुन्छ। दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने स्थिति आएन भने त्यसपछि प्रदेश प्रमुखले पहिलो ठूलो दल अर्थात् एमालेका नेतालाई मुख्यमन्त्री बनाउनुहुन्छ।

उहाँले पनि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। अहिले यस्तो अवस्थामा गुज्रिएका छौँ। अब यीमध्ये कुन बाटोमा जान्छ‚ हेरौँ। प्रदेश सरकारको सन्दर्भमा भन्नुपर्दा सत्ता गठबन्धनको बहुमत आएको छैन। तैपनि काँग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने हल्ला छ। त्यही कुरालाई आधार मान्ने हो भने यो प्रदेशमा हामी जसपा, राप्रपा र एमाले मिलेर चुनाव लडेका हौँ

हाम्रो स्पष्ट बहुमत छ‚ हाम्रो सरकार बन्छ। यसमा कुनै ठूलो समस्या छैन तर राष्ट्रिय राजनीतिमा तलमाथि भयो भने अहिलेको गठबन्धनमा खलबल आयो भने गठबन्धनहरू नयाँ ढंगबाट आए भने एउटाको नेतृत्वमा गठबन्धन बनेर नयाँ सरकार बन्ने सम्भावना हुन्छ।

दोस्रो नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका मिलेर अर्को गठबन्धन बन्न सक्ने सम्भावना हुन्छ। किनभने कसैसँग बहुमत नभएपछि यो सरकार गठन गर्ने अर्को विकल्प हो। नेपाली काँग्रेसले पाउने सम्भावना न्यून छ। किनभने कसैसँग बहुमत छैन।

एमाले र काँग्रेस मिलेर ५ वर्ष सरकार बनाउन सकिन्छ भनेर काँग्रेसभित्र पनि छलफल चलिरहेको छ। दुई दलीय सिद्धान्तको आवश्यकताको आधारमा यो कम सम्भावना छ। यद्यपि यो पनि सम्भावना छ। यी सबै विकल्प जे भए पनि प्रदेश १ मा हाम्रो अर्थात् एमालेको सरकार बनाउने दाबी छ। यसलाई हामी पूरा गर्छौं।

अहिलेसम्म सरकार गठनका लागि कुनकुन दलसँग समन्वय र छलफल गर्नु भएको छ?

अहिलेसम्म औपचारिक कुनै पनि दलसँग छलफल भएको छैन। नेपालको संविधान नितान्त नयाँ केन्द्रीकृत भएको राज्यव्यवस्था लामो समय चलेको र अहिलेसम्म संघीयताको अभ्यास केन्द्रको निगरानीमा चलिरहेको हुनाले मलाई लाग्छ- केन्द्रीय राजनीति कसरी अघि बढ्छ। त्यसरी नै यहाँको निर्धारण हुन्छ। यद्यपि औपचारिक र अनौपचारिक बधाई दिने सिलसिलामा सबै दलसँग हाम्रो कुरा भएको छ।

प्रदेशलाई निकास दिनका लागि हाम्रो नेतृत्वमा सबै दल आएर सरकारमा बसे हुन्छ। हामी त्यो पनि तयार छौँ- नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, राप्रपा सबै दललाई आह्वान पनि गर्छु। एकपटक हामीले त्यो अभ्यास पनि गरौँ। केन्द्रबाट अधिकार लिन र प्रदेशलाई बलियो बनाउन आएका छौँ भने प्रदेशसभालाई जनताको समक्ष स्थापित बनाउने हाम्रो दायित्व हो।

त्यसो हुनाले हामी तयार छौँ। शेयर गरौँ, निश्चित हिसाबको आधारमा हामी ४३ लिउँला, नेपाली काँग्रेसले त्यही ढंगले लेला।

तपाईंले भने जस्तै सम्भव छ त?

सम्भावना त कम छ। यो अभ्यास कमजोर हुन सक्छ। त्यसैले हामीले यहाँका सबैसँग औपचारिक र अनौपचारिक कुरा गरिसकेका छौँ। त्यसो त यी गौण कुरा हुन्। प्रमुख कुरा त राष्ट्रिय राजनीति र त्यसको समीकरण कस्तो हुन्छ, त्यसले निर्धारण गर्छ।

एमाले र माओवादी मिलेर सरकारमा जाने भन्ने सुनिन्छ, यो कतिको सम्भव छ ?

अहिलेको निर्वाचन परिणामले दिएको सन्देश भनेको एक्लै अगाडि नजाऊ भन्ने हो। त्यसो हुनाले मिलेरै बनाउनुपर्ने छ। अहिले हेर्ने हो भने नेपाली काँग्रेस, माओवादी र एकीकृत समाजवादी एउटा गठबन्धन छ। जसपा र राप्रपासँग हाम्रो चुनावी तालमेल छ। अस्तिको निर्वाचनमा भएको चुनावी तालमेलको पक्षमा इमान्दारीको पहिलो प्रयास त्यहाँ हुनेछ।

त्यो हाम्रो दायित्व पनि हो। मैले सबै दललाई आह्वान गरेको छु। हिजो हामीसँग चुनाव लडेकालाई सँगै लिएर जाने, भएन भने विकल्पको रूपमा अरू कुनै दल लिएर जाउँला। हामीलाई एउटा मात्रै दल लिँदा पनि पुग्छ। हामीले यो प्रदेशमा सरकार बनाउँदा मिलिजुली सरकार बन्छ। हामी नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने प्रयासमा छौँ।

संसदीय दलको निर्वाचन वा नेतृत्व चयन गर्ने तयारी कस्तो छ?

१ गते संघको दलले पूर्णता पाउँछ। हाम्रो दलले पूर्णता पाएपछि २ गते यहाँ प्रदेश प्रमुखकोमा दल बुझाएपछि त्यसले प्रदेशसभामा पठाएपछि निर्वाचन आयोग, पार्टीको माध्यमबाट र प्रदेशसभाको माध्यमबाट आएसँगै २ गतेपछि हाम्रो दलको औपचारिक बैठक बोलाउँछौँ। पार्टीको स्थायी कमिटी सदस्य अहिले निर्वाचित भएमध्ये उमेरको हिसाबले सिनियर भएकाले मैले समन्वय गर्नुपर्ने हुन्छ।

पार्टीसँग समन्वय गरेर यहाँको दलको बैठक बोलाएर छलफल गर्छौं। हामीले विगतको निर्वाचन पनि बेहोरका छौँ। मेरो विश्वास छ, हामी अहिले सर्वसम्मतका साथ हाम्रो नेता छान्न सक्ने अवस्थामा छौँ। हाम्रो दलभित्र केन्द्र र प्रदेशसँग सल्लाह गर्छौं, संसदीय दलभित्र पनि हामी घनीभूतरूपमा छलफल गर्छौं र साझा नाम एउटै प्रस्ताव लगेर सहमतिका साथ दलको नेता छान्नेछौँ। त्यो हामी पुसको पहिलो हप्तातिर सम्पन्न गर्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.