|

सोलुखुम्बु : सोलुखुम्बुका उदीयमान भलिबल खेलाडी विष्णु बस्नेत अब राष्ट्रिय खेलाडी बनेका छन्। अन्तरराष्ट्रिय भलिबल प्रतियोगिताका लागि २३ वर्षमुनिको (यू-२३) राष्ट्रिय टिममा उनको नाम समावेश भएसँगै उनको खेल करिअर नयाँ मोडमा आइपुगेको छ।

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एशियन यू–२३ सेन्ट्रल एशियन जोन अन्तरराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये  नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली तयार पारेको हो।

नेपाली टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तरराष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिन जानेछ।  

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एशियन भलिबल एशोसिएशनको संयोजनमा प्रतियोगिता हुन लागेको हो। नेपालले पहिलो पटक यू–२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको र प्रतियोगितामा खेल्न पाउँदा खुशी लागेको बस्नेतले बताए।

दुई वर्षअघि काठमाडौँमा सम्पन्न ‘एनभिए कप’बाट राष्ट्रिय स्तरको प्रतियोगितामा विष्णुले डेब्यु गरेका थिए। नयाँ बजार सामाजिक युवा क्लब बूढानीलकण्ठ काठमाडौंबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै उनले धेरैको मन जितेका थिए।

ओपन स्पाइकर उनले त्यसयता धेरै प्रतियोगितामा खेलेका थिए। उनले हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर १ बाट खेलेका थिए।

१४/१५ वर्षको उमेरदेखि विद्यालय स्तरबाट भलिबल खेल्न थालेका बस्नेतले थ्रि स्टार एकेडेमी काठमाडौबाट अध्ययनसँगै भलिबललाई निरन्तरता दिए। सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेत गाउँमा नै भलिबल खेल्दै र सिक्दै हुर्किएको बताउँछन्।

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र मगरले खेल कौशल र अनुशासनमा बस्नेत अब्बल रहेको बताए। ​अन्तरराष्टिय स्तरमा सोलुखुम्बुका खेलाडी पुग्नु गौरवको विषय भएको उनको भनाई छ।

‘अन्तिम १४ मा परेका विष्णु अन्तराष्ट्रिय प्रतियोगिता खेलमा राम्रो प्रदर्शन गर्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष मगरले भने, ‘विष्णुलाई सानैदेखि भलिबलतिर आकर्षित गर्न भलिबल रेफ्री विकास गुरुङको नाम आउँछ।’

बस्नेत विद्यालयस्तरीय हुँदै वडास्तरीय प्रतियोगिताबाट खेल जीवन शुरु गरेका हुन्। जिल्ला भलिबल संघ सोलुखुम्बुका महासचिव योगेश श्रेष्ठले भने‚ ‘विष्णु  कुशल स्पाइकर हुन्, अनुशासन र इमान्दारिता उनको अर्को सम्पत्ति हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.