|

काठमाडौ‌ं : पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले  ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएका छन्। 

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार गत साउनदेखि मंसिरर मसान्तसम्मएनओसीलिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ।

उहाँले उच्च शिक्षाका लागि विदेश जानेहरूले आफूसाथ लिएर जाने रकम र विदेश जानेहरूको आधिकारिक तथ्यांकका लागि नेपाल राष्ट्र बैंक र अध्यागमन विभागसँग परामर्श भइरहेको जानकारी दिए। ‘ती दुई निकायसँग सहमति भए विद्यार्थीले लैजान पाउने रकम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वा भित्रिने विद्यार्थीको विवरण तत्काल उपलब्ध हुनेछ’, उनले भने।

शाखाका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा करिब एक लाख १४ हजार जनाले एनओसी लिएका थिए। यो अवधिमा ५९ मुलुकका लागि नो अब्जेक्सन लेटर लिइएको छ। सबैभन्दा बढी अस्ट्रेलियाका लागि यस्तो पत्र लिएका छन्। अस्ट्रेलिया जान १० हजार ७९९ जनाले पत्र लिएका छन्।

जापानका लागि छ हजार ६२५ जना, क्यानडाका लागि छ हजार ५३१ जना, बेलायतका लागि पाँच हजार ३०४ जनाले यस्तो पत्र लिएका छन्। भारतका लागि एक हजार ९० जना, यूएईका लागि ९१३ जना, रुसका लागि ९७२ जना, कोरियाका लागि ७४४ जना तथा न्युजिल्याण्डका लागि ३९६ जनाले एनओसी लिएका छन्।

अमेरिकाका लागि एक हजार ५५९ जनाले मात्र नो अब्जेक्सन लेटर लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ घटेको देखाउँछ। कुनै वेला सबैभन्दा बढी एनओसी लिने मुलुकमा अमेरिका पर्‍थ्यो। पछिल्लो तथ्याङ्कले विद्यार्थीको आकर्षण अस्ट्रेलियातर्फ बढेको देखाएको छ।

सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्याण्डका लागि एक/एक जनाले एनओसी लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.