|

पर्वत : केन्द्रीय राजनीतिको समीकरणमा आएको उछालले नेपाली काँग्रेसले मुख्यमन्त्री पाउने प्रबल सम्भावना देखिएका ठाउँमा काँग्रेस नै प्रतिपक्षमा बस्नुपर्ने अवस्था देखिएको छ।

पुस १४ गते सांसदहरूले शपथ खाएपछि सरकारको निर्माणको प्रक्रिया शुरु हुँदै छ। मुख्यमन्त्री पाउनेमा ढुक्क रहेको काँग्रेसले उत्साहका साथ पुस १३ गते नै संसदीय दलको नेता चयन गर्दै छ।

शपथलगत्तै शुरु हुने सरकार निर्माण प्रक्रियाबाट केही दिनमै मुख्यमन्त्रीको कुर्चीमा पुग्न सक्ने बलियो सम्भावना रहेको काँग्रेसले मुखैमा आइसकेको उक्त कुर्ची गुमाउने लगभग पक्का भएको छ।

केन्द्रमा कायम रहेको सत्तारुढ गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘लाइन’मा पुगेपछि गण्डकी प्रदेशमा पनि त्यस्तै हुने भएको छ।

आफूहरूको बहुमत पुगिसकेकाले अब एमाले र माओवादी मिलेर सरकार बनाउने नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले बताए। थाहाखबरसँग कुराकानी गर्दै उनले एमाले, माओवादी र राप्रपाका सांसदको सङ्ख्या ३२ पुगिसकेकाले आफूहरूको बहुमत पुगिसकेको र अब नियमअनुसार सरकार निर्माणको प्रक्रियामा लाग्ने बताए।

‘सरकार निर्माणको बारेमा त अब के भन्नु? हाम्रो बहुमत पुगिहाल्यो नि! एमाले २२, माओवादी ८, राप्रपा २ भयो। ३२ पुग्यो‚ बहुमत भयो’, उनले भने, ‘हाम्रो कुरा त अब काँग्रेसले पनि सहयोग गरोस् भन्ने हो। मनाङ मुस्ताङतिरका कुरा छोडौँ, काँग्रेस पनि आइदिए हुन्थ्यो अब।’

मनाङबाट स्वतन्त्र रूपमा चुनावमा उठेर सर्वसम्मत विजयी भएका गण्डकी प्रदेश सरकारका बहालवाल मन्त्री राजीव गुरुङ केही दिनअगाडि मात्रै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्। अघिल्लो निर्वाचनपछि गण्डकीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार गठन गर्दा उनको साथ दिए, उनी खेलकुदमन्त्री पनि बने। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको कदम चित्त नबुझेको भन्दै पृथ्वीसुब्बाकै सरकार ढाल्न राजीव गुरुङ तयार भए।

उनले नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउन सहयोग गरे। फेरि पनि खेलकुदमन्त्री बने र अहिलेसम्म बहालवाला नै छन्। पहिले सरकार ढलाउन सहयोग गरेको तथा पछि नेकपा (समाजवादी) मा प्रवेश गरेका कारण मनाङेसँग एमाले त्यति धेरै सकारात्मक छैन। 

थाहाखबरले दीपक मनाङेजी के गर्नुहोला? उहाँसँग केही कुरा भएको छ? भन्ने प्रश्नमा अधिकारीले ‘खोइइ मनाङ मुस्ताङ थाहा भएन। हामीलाई एमाले, माओवादी, काँग्रेस भन्ने थाहा भयो। काँग्रेस पनि हामीसँगै आओस् भन्ने हो। अरू कुरा थाहा भएन’ भन्दै मनाङेप्रति व्यङ्ग्य गरे।

६० सदस्यीय प्रदेशसभा रहेको गण्डकी प्रदेशमा बहुमत हुन ३१ जना सांसद आवश्यक हुन्छन्।

यो अनुसार सरकार निर्माणको लागि एमाले-माओवादीलाई आवश्यक सङ्ख्या पूरा भएको छ। प्रदेशमा नेपाली काँग्रेसमा प्रत्यक्षबाट १८ र समानुपातिकबाट ९ गरी २७ जना, नेकपा एमालेमा प्रत्यक्षबाट १२ र समानुपातिकबाट १० गरी २२ जना, माओवादीमा प्रत्यक्षबाट ४ र समानुपातिकबाट ३ जना गरी ७ जना, नेपाल समाजवादी पार्टीमा प्रत्यक्षबाट १ जना तथा राप्रपामा समानुपातिकबाट २ जना निर्वाचित भएका छन्।

गोरखाको निर्वाचन क्षेत्र नं. २ (क) बाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा निर्वाचनमा नेकपा माओवादी केन्द्रकै चुनाव चिह्नमा उठेका थिए। यसै कारण थाहाखबरसँगको कुराकानीमा एमाले संसदीय दलका नेता अधिकारीले माओवादीका आठ सांसद रहेको बताएका हुन्।

देवकोटा माओवादीको चुनाव चिह्नबाट नलडेर नेपाल समाजवादीकै चिह्नबाट लडेको भए पनि उनको समर्थन एमाले-माओवादीको सरकारलाई नै रहने थियो। किनकि गोरखा २ मा प्रचण्डलाई जिताउनकै लागि भट्टराईले आफू नलडेर प्रचण्डलाई साथ दिए।

गण्डकी प्रदेशमा ज्येष्ठ सदस्यले पुस १३ मा शपथ लिएपछि पुस १४ गते अरू ५९ जना सांसदलाई शपथ ग्रहणको तयारी भइरहेको छ। शपथको काम सकिएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार निर्माणका अन्य प्रक्रिया अगाडि बढाउनेछन्।

प्रदेशमा मुख्यमन्त्री बन्नको लागि नेपाली काँग्रेसबाट चारजना नेताको दाबी रहँदै आएको थियो। उनीहरू गोरखा २ (ख) बाट निर्वाचित सुरेन्द्रराज पाण्डे, कास्की २ (ख) बाट निर्वाचित तथा प्रदेश सरकारका बहालवाला कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा, स्याङ्जा २ (क) बाट निर्वाचित भोजराज अर्याल र नवलपुर १ (क) बाट निर्वाचित महेन्द्रध्वज जिसी हुन्।

नेपाली काँग्रेस गण्डकी प्रदेशले संसदीय दलको नेता चुन्न पुस १३ गते निर्वाचन गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.