|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत पशुपतिनाथको नाममा रहेको ९ रोपनी ९ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ। 

सोमबारको गोरखापत्र दैनिकमा अशोक अधिकारी समाचार लेख्छन्, पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग भएको सम्झौताविपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ। 

धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले गौशालास्थित पशुपतिनाथ मन्दिरको जग्गामा होटल, रेस्टुरेन्ट, लजसहितको व्यापार व्यवसाय सञ्चालन गरेको आरोप कोषले आरोप लगाएको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार २०६० जेठ १२ गते भएको सम्झौताविपरीत सेवा समितिले धर्मशालामा व्यवसाय सञ्चालन गरिरहेको हो। 

सम्झौताअनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँ कोषलाई बुझाउनुपर्छ। ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो। तर समितिले पशुपतिनाथ मन्दिरको जग्गामा ‘मोहियानी हक’ भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गर्दै आएको छ। उल्टै थप संरचना बनाइरहेको छ।

‘कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौताबमोजिम गौशाला धर्मशालाभित्र संरचना निर्माण गर्दा कोषको स्वीकृति लिनुपर्छ’, अधिकारीले भने, ‘समितिले नियमको पालना नगरी पक्की संरचना खडा गरी व्यवसाय सञ्चालन गरेको छ।’ कोषसँगको सम्झौताअनुसार गौशाला धर्मशाला परिसरमा मारवाडी सेवा समितिले जर्सी गाई पालेरदुग्ध व्यवसाय सञ्चालन गरिरहेको बताए। ‘तर सम्झौताविपरीत गौशालाभित्रै अस्पताल सञ्चालन गरेपछि हामीले जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएका हौँ’, उनले भने।

प्रवक्ता अधिकारीले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको सेवाका लागि सञ्चालित धर्मशालामार्फत सेवा समितिले व्यवसाय सञ्चालन गरेपछि सम्झौताविपरीतका गतिविधि सञ्चालन नगर्न पत्राचार गर्दा पनि सेवा समितिले ती कार्य नरोकेको बताए। 

मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले भने मानवीय सेवाकै लागि धर्मशाला प्रयोग भइरहेको दाबी गरे । ‘त्यस्तो केही होइन, हामीले नियमअनुसार नै गरेको छौँ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.