|

पर्वत : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले शपथग्रहण पनि गरिसकेका छन्। नेकपा एमालेको गण्डकी प्रदेशको संसदीय दलका नेता अधिकारी पूर्वगृहमन्त्री समेत हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे। सत्तारुढ गठबन्धनको आइतबार बसेका बैठकमा अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै प्रदेश प्रमुख गुरुङले दिएको समयभित्रै मुख्यमन्त्रीको दाबी प्रस्तुत भएको थियो।

प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ। अधिकारीले ३३ सांसदको समर्थन लिएर दाबी पेश गरेपछि मुख्यमन्त्री बनेका हुन्।

गण्डकीमा एमालेसँग २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना सांसद रहेका छन्। मनाङबाट स्वतन्त्र रूपमा चुनाव जितेर प्रदेशसभामा आएर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेको साथले उनी मुख्यमन्त्री बने।

निर्वाचनअगाडि टिकट वितरणको वेला उनलाई प्रदेशमा मुख्यमन्त्रीको दावेदारका रूपमा उभ्याउने गरी पार्टी अध्यक्ष के।पी शर्मा ओलीले उनलाई प्रदेशमा उठाएका हुन्। काँग्रेस–माओवादी सम्मिलित पाँचदलीय गठबन्धन नभत्किँदासम्म उनले मुख्यमन्त्री पाउने आशा थिएन।

सायद अधिकारी स्वयंले नै आफूलाई मुख्यमन्त्रीका रूपमा सोचेका थिएनन् होला तर राजनीतिमा एकाएक आएको ‘यू-टर्न’ले उनको पोल्टामा सहजै मुख्यमन्त्री परेको हो। प्रमुख प्रतिपक्षी दलको रूपमा रहने अवस्थामा उनी एकाएक मुख्यमन्त्री बनेका छन्।

अधिकारीको राजनीतिक पृष्ठभूमि

कास्कीको बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका उनी सानैदेखि राजनीतिक चेतनासहितका छरछिमेकमा हुर्किए। उनको गाउँमा २०१५ सालमा पुष्पलाल पुगेकाले गाउँमा राजनीतिक चेत राम्रै थियो। त्यही परिवेशमा हुर्किएका अधिकारीले सानैदेखि समानताको वकालत गर्न थाले। गाउँमा कम्युनिस्टलाई अन्यायविरुद्ध लड्ने शक्ति भन्थे। अधिकारी पनि सानैदेखि अन्यायविरुद्ध लड्न चाहन्थे।

बाबु शेषरमण उपाध्याय र आमा लीलादेवीको काखमा हुर्किँदै गर्दा अधिकारीले सत्यको वकालत गर्न प्रेरित भए। स्कुलेजीवन केही ढिलो शुरु भए पनि विद्यालयमा शिक्षकहरूकै गल्तीविरुद्ध बोल्ने आँट र साहस, आत्मविश्वास र हिम्मत उनीमा जुटिसकेको थियो।

एक रात उनको घरछेउ बाघ आएको थियो। बाबु शेषरमणले थाहा पाएर एक्लै बाघ लखेटे। गाउँले परिवेशका लागि यो सामान्य घटना हुन सक्छ तर अधिकारीको जीवनमा यसले शिक्षा दियो कि ‘बाघजस्तो शक्तिशाली प्राणीलाई पनि मान्छेले लखेट्न सक्दो रहेछ’ अर्थात् ‘मानिसले चाह्यो भने असम्भव केही छैन।’

यो घटनाले अधिकारीको मनमा स्थायी प्रभाव पार्‍यो। सत्यमा अडिग रहे सफल हुन सकिन्छ, मानिसले आँट्यो भने अत्यन्त अप्ठ्यारो काम पनि सहजै गर्न सकिन्छ भन्ने उनको मनमा गडेर बस्यो।

तत्कालीन परिस्थितिमा गाउँ–गाउँका विद्यालयमा राजनीतिक सङ्गठन विस्तार हुँदै थिए। अधिकारीले पनि ११ वर्षको उमेरमा आनन्द ज्योति माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिको जिम्मेवारी पाए। स्कुले जीवनमा नै राजनीतिक सङ्गठनमा काम गरेका अधिकारीले २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर साङ्गठनिक रूपमा आफूलाई अगाडि बढाए। त्यसपछि उनको राजनीतिक यात्रा अविराम अगाडि बढ्यो।

२०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को कास्की जिल्ला अध्यक्ष भएका अधिकारी उच्च अध्ययनका लागि काठमाडौँ पुगे। परिवारको चाहनाविपरीत उनी फेरि कास्की नै फर्किएर पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा विज्ञान अध्ययनका लागि भर्ना भए।

त्यहाँ पनि उनी राजनीतिक सङ्गठनमा नरहने कुरै भएन। २०३७ सालमा पिएन क्याम्पसमा स्ववियू सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य भए।

त्यसको दुई वर्षपछि उनले अनेरास्ववियूको उपाध्यक्षको जिम्मेवारी सम्हाले। उनले २०४० सालमा पिएन क्याम्पसमा पहिलो पटक स्ववियू सभापतिमा जित हासिल गरे। दोस्रो पटक २०४१ सालमा फेरि स्ववियू सभापति भएका अधिकारी खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बने। त्यसैले उनले २०३६ सालदेखि अर्धभूमिगत रहेर पार्टी र सङ्गठनका लागि काम गरे।

तर २०४२ सालमा स्ववियू सभापति हुँदाहुँदै अधिकारीलाई प्रशासनले पक्राउ गर्‍यो। २०४६ सालसम्म उनले नेपालका विभिन्न स्थानमा जेल जीवन बिताए। कास्की, रौतहट, दमौलीलगायत जिल्लाका जेलमा पठाइएका अधिकारी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको संस्थापक केन्द्रीय सदस्य भए।

२०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका उनी २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। २०५४ सालमा सचेतकको जिम्मेवारी पाएका अधिकारी २०५१ मा सांसद भए।

अविच्छिन्न सुसंस्कृत तथा समृद्ध समाजको निर्माणमा लागिरहेका अधिकारीले २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनमा पनि अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। प्रशासनले अधिकारीको यो नेतृत्वलाई सहेन, उनलाई पक्राउ गरियो र जेल हालियो।

देशमा गणतन्त्र स्थापनापछि अधिकारीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाले। स्वास्थ्यमन्त्री रहेकै वेलामा उनी २०६५ सालमा भएको नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका थिए। उनलाई पार्टीले गण्डकी इन्चार्ज, सङ्गठन विभागको सदस्य तथा पोलिटब्युरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो।

सरकार सञ्चालन तथा पार्टीको वैचारिक तथा साङ्गठनिक विकासमा योगदान गरेका अधिकारीलाई २०७३ सालमा नेकपा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी दियो। २०७४ सालमा भएको आमनिर्वाचनमा कास्की–१ बाट विजयी भएका अधिकारी २०७८ साल जेठ २७ गते गृहमन्त्री नियुक्त भएका थिए।

२०७८ साल मङ्सिरमा चितवनमा भएको पार्टीको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा छन्। अधिकारीको २०७० सालसम्मको जीवनका आरोह अवरोह तथा राजनीतिक सङ्घर्ष र यात्राको विषय समेटिएको संस्मरण ‘माया मारेको मान्छे’ प्रकाशित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.