|

पर्वत : सामान्यतया आफू आसीन पद फरक व्यक्तिले प्राप्त गर्दा भित्रिने र बाहिरिनेबीच आत्मीयता नदेखिन सक्छ। राजनीति गर्नेहरूले त यसलाई झनै असहज ठान्छन्। 

तर गण्डकी प्रदेशमा सोमबार अलि फरक दृश्य देखियो। साँझदेखि निवर्तमान बनेका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मुख्यमन्त्री खगराज अधिकारीबीचको सौहार्दता राम्रै देखियो। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका उनीहरूले शपथ ग्रहणपछि एक अर्कालाई अंकमाल गरे। नेपालीले अधिकारीलाई मुस्कान सहित स्वागत गर्दै बधाइ दिए। सफल कार्यकालको शुभकामना व्यक्त गरे।

मुख्यमन्त्रीको बागडोर सम्हाल्न आइपुगेका एमाले नेता अधिकारी पनि खुलेको मुहारमा प्रस्तुत भए। नसोचेकै अवस्थामा एकाएक मुख्यमन्त्री पाएका पोखरेलले नसोचेकै अवस्थामा मुख्यमन्त्री पाएका अधिकारीले स्टेजमा नै हात मिलाउँदै एक अर्कामा शुभकामना बाँडे। 

निवर्तमान मुख्यमन्त्री पोखरेलले आफ्नो बिदाइपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै नेकपा एमालेका परिपक्व र अनुभवी नेता अधिकारीको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भएको उल्लेख गरेका छन्। ‘नेकपा एमालेका परिपक्व र अनुभवी नेता माननीय खगराज अधिकारी अधिकारीको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भएको छ। उहाँ र उहाँको टिमलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’ पोखरेलले लेखेका छन्, ‘नयाँ सरकारले प्रदेशका नागरिकको जीवनस्तरमा सुधार गर्दै संसदीय र लोकतान्त्रिक पद्धतिको अनुसरण गरी सङ्घीय व्यवस्थालाई सुदृढ पार्न प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् हार्दिक शुभकामना।’ 

तत्कालीन समयमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, तत्कालीन जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदसहितको गठबन्धन सरकार बन्ने परिवेश सिर्जना भएको २०७८ जेठ २९ गते गठित सरकारको नेतृत्व लिने जिम्मेवारी आफूमा आइपुगेको उनले बताएका छन्।

पोखरेलले आफूभन्दा पहिला मुख्यमन्त्री बनेका एमालेकै नेता पृथ्वी सुब्बा गुरुङलाई पनि धन्यवाद दिएका छन्। उनकै जिम्मेवारीपूर्ण व्यवहारका कारण प्रदेश सभाको काम कारबाहीमा सहज भएको पनि पोखरेलले उल्लेख गरेका छन्। 

‘गठबन्धनमा आबद्ध दलहरू, मन्त्रिपरिषद्का माननीय सदस्यहरू, प्रदेश नीति तथा योजना आयोग, गण्डकीबाट राष्ट्रिय योजना आयोगमा प्रतिनिधित्व गर्ने पूर्व उपाध्यक्ष लगायत विज्ञहरूको सक्रिय सहयोग र विकसित घटनाक्रमले प्रमुख प्रतिपक्षी भएको नेकपा एमालेका संसदीय दलका नेता एवं गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको जिम्मेवारीपूर्ण व्यवहारका कारण प्रदेश सभाको तत्कालीन काम कारबाहीमा सहजता आएको थियो’, उनले लेखेका छन्, ‘क्षमताले भ्याएसम्म सरकारले आफ्ना काम कारबाहीलाई जनमुखी र प्रतिफलयुक्त बनाएको छ। यस अवधिमा गण्डकी सरकारले सम्पादन गरेका कार्यहरूले यसको पुष्टि गर्दछ। यसको मूल्यांकन आम प्रदेशवासीबाट हुने नै छ।’ 

आफ्नो समयमा सम्पादन गरेका कामको पुस्तिकाप्रकाशन गरिएको पोखरेलले बताएका छन्। उनले आफ्नो कार्यकालमा सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन प्रत्यक्ष वा परोक्ष सहयोग गरेका मन्त्रिमण्डलका सदस्य, प्रदेश सभाका माननीय, राष्ट्रसेवक कर्मचारी, विद्वत् वर्ग, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार एवं सञ्चारकर्मी, निजी क्षेत्र र आफ्नो समूहमा रहेर काम गरेका सबैलाई धन्यवाद दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.