|

पर्वत : पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पद सम्हालेका पर्वतका सांसद पदम गिरीलाई जिल्लावासीले उत्साहका साथ बधाई दिइरहेका छन्।

२०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी बनेका उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारकै बेलामा जिल्लावासीले मन्त्रीका रूपमा आशा गरेका थिए।

विद्यार्थी राजनीतिबाट आएका उनी नेकपा (एमाले)का पार्टी अध्यक्ष ओलीसँग नजिकको सम्बन्धमा रहनु तथा यस अगाडि पर्वतबाट जितेर गएका जनप्रतिनिधिहरूले मन्त्री बन्ने अवसर नपाएका कारण पनि उनलाई मन्त्रीका रूपमा हेर्ने धेरैको चाहना थियो।

२०७४ र २०७९ का निर्वाचनमा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गरे। त्योभन्दा अगाडिका तीनवटा निर्वाचनमा भने जोशीले नै जित हात पारेका थिए। जोशीलाई नै मन्त्रीका रूपमा पर्वतवासीले आशा गरेका थिए। एकपटक त मन्त्री बनाउने चर्चासँगै फेसबुकभर उनलाई बधाईसमेत लेखिए। तर उनले मन्त्री बन्ने अवसर पाएनन्।

लगातार विजयी भएर जनताको मन जितेका नेताहरूले मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने पर्वतवासीको चाहना थियो। जोशीलाई मन्त्रीका रूपमा हेर्न नपाएका जिल्लावासीले गिरी अघिल्लै कार्यकालबाट मन्त्री बन्न सक्ने अपेक्षा गरेका थिए।

सङ्घीय संसदमा दोस्रो कार्यकालका छिरेका गिरी मन्त्री बनेपछि राजनीतिक नेताको रूपमा भन्दा पनि जिल्लाको साझा नेताको रूपमा हेर्दै जिल्लावासीले बधाई दिइरहेका छन्।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पर्वत जिल्लाको इतिहासमा सङ्घीय सरकारमा मन्त्री हुने पहिलो व्यक्ति बनेका कारण जिल्लावासीको बधाई पाइरहेका छन्। राणा शासन अन्त्यपछि पर्वत जिल्लाबाट राज्य र सहायक मन्त्री ६ जना बनिसक्दा सङ्घीय सरकारमा भने पहिलो मन्त्रीका रूपमा गिरीले इतिहास बनाएका हुन्।

यस्तो छ उनको परिचय

गिरी २०३३ साल मङ्सिर ८ गते जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा बुबा स्वर्गीय बेल गिरी र आमा सिता गिरीबाट जन्मिएका हुन्। गाउँमै रहेको काफलचौर माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।

२०४६ सालमा अखिल पाँचौँको सदस्य बन्दै राजनीतिमा होमिएका उनी २०४८ सालमा काफलचौर माविको प्रारम्भिक कमिटीको सचिव हुँदै प्रारम्भिक कमिटीको अध्यक्ष बने। उच्च शिक्षा अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा पुगेका उनी २०५० सालमा पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववीयु पर्वत पोखरा सम्पर्क कमिटीको अध्यक्ष बने।

२०५५ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियन सदस्य बनेका गिरी २०५७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए। अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य, अनेरास्ववियु केन्द्रीय सदस्य हुँदै उनी २०५९ सालमा भएको स्ववियु निर्वाचनमा पुनः दोस्रोपटक उपसमितिमा पुगे।

२०५९ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘कु’ को विरुद्धमा पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गदै भएको प्रदर्शनको नेतृत्व गरे। त्यसको भोलिपल्ट नै उनी माघ २० गते तत्कालीन शाही सेनाको नियन्त्रणमा पुगेका उनी सेनाको नियन्त्रणबाट बाहिर आएपछि राजनीतिमा झनै खटिएर लाग्न थाले।

२०६२ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापति निर्वाचित भएका गिरी अनेरास्वियुको १९ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित भई स्ववियु परिचालन विभागको प्रमुख बनेका थिए।

नेकपा एमाले पर्वतको सातौँ जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारी सम्हालेका उनी नेकपा एमाले पर्वतको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भए।

२०७४ मङ्सिर २१ मा भएको आम निर्वाचनमा पर्वतबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित उनी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला अध्यक्ष बने।

नेकपा एमालेको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सह–इन्चार्ज बनेका उनी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा दोस्रो पटक पर्वत जिल्लाबाट निर्वाचित उनी फेरि पनि संसद् छिरे।

उनलाई पार्टीभित्रका नेताहरूले ‘म्यान अफ दि इलेक्सन’ को नाम दिएका छन्। पार्टीभित्रको निर्वाचनमा उनले उम्मेदवारी दिएपछि अन्य पुराना नेताले नै ठूलो मतान्तरले पराजित बन्नु तथा संसदीय निर्वाचनमा पनि ‘ह्याट्रिक’ उम्मेदवार जोशीलाई पराजित गरेकै कारण उनलाई ‘म्यान अफ दि इलेक्सन’ भन्ने गरेका छन्।

उनलाई उनकै पार्टी र अन्य पार्टीका नेता र कार्यकर्ताहरूले पनि मिजासिलो, हँसिलो र छिट्टै जोसँग पनि घुलमिल हुन सक्ने व्यक्तिको रूपमा चिन्छन्। गिरी पार्टीभित्रै पनि कुशल राजनीतिक खेलाडी मानिन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.