|

काठमाडौं : चालु आर्थिक वर्षको अघिल्लो ६ महिनामै करिब चार लाख नेपाली रोजगारीका लागि विदेशिएका छन्। 

बिहीबारकोगोरखापत्र दैनिकमा समाचार छ, वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० को पहिलो छ महिनामा तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर विदेशिएका छन्। यसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान) लगायत देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ। 

स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या हेर्दा त तत्काल बाध्यात्मक वैदेशिक रोजगारी रोकिने अवस्था नदेखिएको सरोकारवाला बताउँछन्। 

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मंगलबार पदबहालीका क्रममा बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरे। तर वैदेशिक रोजगारविज्ञ डा.गणेश गुरुङ स्वदेशमा रोजगारीका विकल्प तयार नगरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा तत्काल सम्भव नदेखिएको बताउँछन्।

‘मन्त्रीज्यूले केही आधार दिएको भए शून्यमा झार्ने प्रयास यसरी रहेछ भन्ने हुन्थ्यो’, उनले भने, ‘त्यत्तिकै बोलेका भरमा शून्यमा झार्नेतर्फ विगतका मन्त्रीकै जस्तो हो, उहाँले गर्नुभयो भने हेरौँला नि त।’

त्यसो त पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन्। श्रम स्वीकृति नलिई जानेको संख्या पनि हजारौँ छ। अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन्। यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन्। 

विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन्। विभागका महानिर्देशक उमाकान्त आचार्यले गत दुई वर्ष बन्द रहेको मलेसियाको रोजगारी खुलेको र कतारमा जाने बढेकाले श्रम स्वीकृति लिनेको संख्या बढेको बताए। 

आव    २०७८/७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन्। पछिल्लो छ महिनाको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्ष करिब आठ लाख युवा विदेश जाने देखिएको छ। 

विभागका महानिर्देशक आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको बताउनुभयो। पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ। 

विभागका अनुसार साउनमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रम स्वीकृति लिएकोमा पुसमा ६५ हजार ४६४ जनाले श्रम स्वीकृति लिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.