|

सुर्खेत : जटिल भूगोलका साथै पर्याप्त पूर्वाधारको अभावमा सास्ती भोग्दै आएको कर्णालीमा विद्यार्थी अनुपातका शिक्षक नहुँदा समस्या हुँदै आएको छ।

विद्यार्थी विद्यालय जान एक घण्टा पैदल हिँड्नुपर्ने र भुइँमै बरेर पढ्नुपर्ने कर्णालीका लागि सामान्य हो। आधारभूत तह पढ्दासम्म पाठ्यपुस्तक पूरै पढ्न नपाउने अवस्था पनि यहाँका लागि नयाँ होइन। भएका शिक्षकले समेत व्यापार, ठेक्का र अन्य व्यवसाय गरेर विद्यालयमा पढाउनतर्फ ध्यान नदिँदा कर्णालीको शैक्षिक अवस्था कमजोर बनेको छ।

विद्यालयमा बस्ने ठाउँ अभावमा बहुकक्षा शिक्षणदेखि भुइँमा बसेर पढ्नु पर्ने बाध्यता अझै कायम छ। शिक्षक दलका एजेन्ट बन्दा विद्यालय भन्दा राजनीतिमा बढी ध्यान दिने गरेको समय समयमा आरोप लाग्दै आएको छ। विद्यालयमा नियमित सहभागी भई दैनिक राम्रो काम गरिरहेका शिक्षक समेत कामचोर सहकर्मीका कारण बदनाम बन्न पुगेका छन्। उपभोक्ता समितिदेखि ठेक्का लिनेमा अधिकांश शिक्षक नै छन्। एकै ठाउँमा लामो समय बस्दा शिक्षकले राजनीति गर्ने अवस्था सफल हुँदै पनि गएको छ। चुनावमा उम्मेदवार जिताउने र हराउनेसम्मका काममा शिक्षको भूमिका महत्त्वपूर्ण रहेको छ।

निजी क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना दर बर्सेनी बढेको छ। सामुदायिक विद्यालयमा घट्दै गएको छ। विद्यालयमा रहेको प्रधानाध्यापकले आफन्त मात्र भर्ती गर्दा शैक्षिक अवस्था झन् बिग्रिएको छ। विद्यालय व्यवस्थापन समितिका समेत आफन्तलाई ल्याउँदा विरोध गर्नेको मुख थुन्ने प्रयास हुँदै आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। निजी स्रोतबाट राखिएका शिक्षक समेत अधिकांश शिक्षककै आफन्त छन्। यो कर्णालीका १० जिल्लाकै समस्या हो। अहिले कर्णालीका १० जिल्लामा भारी मात्रामा शिक्षकको दरबन्दी खाली छ। सरकारले पहाडी जिल्लामा ४५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ।

हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षकको नियम छ। कर्णालीका सबैजसो विद्यालयले उक्त मापदण्डअनुसार शिक्षक पाएका छैनन्। शिक्षक र विद्यार्थी अनुपातअनुसार दरबन्दी मिलानको प्रयास गरिए पनि समस्या समाधान हुनसकेको छैन। विद्यालय सङ्ख्या धेरै र दरबन्दी कम भएकाले दरबन्दी मिलान गर्न समस्या भएको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख बताउँछन्। ​दैलेखस्थित समन्वय एकाइका निमित प्रमुख रतन बिष्टका अनुसार प्राविमा अहिले कायम रहेको दरबन्दीमै पनि २०० हाराहारीमा शिक्षक अपुग छ। 

यस्तै रुकुम पश्चिममा प्राविमा २८ दरबन्दी थप गर्न माग गरिएको छ निमाविमा चार र माविमा एक जनाको दरबन्दी माग गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनमगरले बताए। 

जुम्लामा प्राथमिक तहका ४४० दरबन्दीमध्ये ४१ दरबन्दी खाली छ। शिक्षा विकास तथा समन्वय एकाइ प्रमुुख मक्कर भण्डारीका अनुसार जुम्लामा निमाविमा ८० र मावि तहमा ६० दरबन्दी भए पनि अपुग भएपछि थप पाँच दरबन्दी माग गरिएको छ। यस्तै सुर्खेतमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी छ।

शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका शाखा अधिकृत नारायणप्रसाद पौडेलका अनुसार निमावि र माविमा तहमा आवश्यक शिक्षक भए पनि प्राथमिक तहमा अभाव छ। सुर्खेतमा १५६ मावि, २४५ निमावि र प्राथमिक तहमा एक हजार १९१ शिक्षक दरबन्दी पदपूर्ति छ। तर प्राथमिक तहमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी रहेको पौडेलले बताए। 

यसैगरी मुगुमा तीनवटै तहका लागि १०६ दरबन्दी माग गरिएको छ। प्राविमा ६८, निमाविमा १३ र माविमा २५ दरबन्दी आवश्यक देखिएको शिक्षा विकास तथा समन्वय एकाइ मुगुका प्रमुख सूर्य खत्रीले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.