|

दैलेख  : जिल्लाको गुराँस गाउँपालिकामा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ। गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले पत्नी २७ वर्षीया पार्वती बिसीलाई कुटपिट गर्दा पार्वतीको मृत्यु भएको हो।

खड्काले सोमबार राति कुटपिट गरी पत्नी पार्वतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। खड्काले काठको गरालो प्रयोग गरी पार्वतीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख लम्सालका अनुसार खड्का र बिसीको गत मंसिरमा विवाह भएको थियो। खड्काले विवाह गरेको ३ महिना नबित्दै पार्वतीको हत्या गरेका हुन्। मृतक बिसीको माइतीघर गुराँस गाउँपालिका–६ मा रहेको छ।

पत्नीको हत्या गर्ने खड्कालाई पक्राउ गरिएको प्रहरी प्रमुख लम्सालले बताए। घटनाबारे अनुसन्धान थालिएको र मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको लम्सालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.