|

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्क स्थित पञ्चेडाँडाकी ६३ वर्षीया पूर्णकुमारी गुरुङलाई आफ्नो गाउँ देख्दा न्यास्रो लाग्छ। बाक्लो बस्ती, सहयोगी छिमेकी, मर्दा र पर्दा सबै भेला हुँदा बन्ने ठुलो भीड हुन्थ्यो पहिले।

आजकाल गाउँघरका चिया पसलमा बसेर आफूले बुझेसम्मका राजनीतिका कुरा गर्ने, चुनावको बेलामा रेडियोले  नेताहरूको मतान्तर बताएको सुन्न चर्को आवाजमा रेडियो बजाएर बस्ने भीड, बारीका पाटामा डण्डीबियो खेल्दै गोरु जुधाउँदै गरेका बालबालिकाहरू कोही पनि देख्न नपाउँदा उनलाई आफ्नै गाउँ सुनसान लागेको हो।

‘पहिले गाउँ भरिभराउ हुँदा त गाउँमा बेस्सरी रमाइलो हुन्थ्यो। डाँडाखर्कमा एक दिन बस्छु भनेर आएको मान्छे छ सात दिनसम्म बस्दा पनि नथाक्ने। त्यसमा पनि गुरुङ गाउँ त झनै रमाइलो हुन्थ्यो। हाम्रैमा एक दिनलाई पाहुना लाग्न आएका मान्छे एक हप्ता बसेर गएका हुन्’, पूर्णकुमारी भन्छिन्, ‘अहिले गाउँमा धेरै घर छैनन्। भन्नाले घरहरू त थुप्रै छ की ती घरमा बस्नेहरू नै छैनन्। कोहीले परिवारै लिएर गए, कोहीका बुढापाका मात्रै छन्।’ आर्थिक अवस्था राम्रो भएकाहरूले सन्तानलाई पढाउन, बजारको सुविधा लिन तथा कोही जागिरको सिलसिलामा बजारमा बस्दा गाउँमा पैसा नभएकाहरू मात्रै बाँकी रहेको उनको दुखेसो छ।

आर्थरका वडाध्यक्ष रुद्रमोहन रिमालले वडामा करिब डेढदेखि दुई सय घरहरू रित्तो अवस्थामा रहेका बताए। ती घरहरू रित्तो हुनुको कारण भने तत्कालीन सशस्त्र विद्रोह रहेको उनको अनुभव छ। द्वन्द्व र सङ्कटकालको बेलामा माओवादी पक्षबाट माग हुने चर्को चन्दाका कारण जागिर खाँदै गरेका तथा ‘पेन्सनर’हरूले गाउँ त्यागेको रिमाल बताउँछन्।

‘गाउँमा विकासको क्रम बढ्दै गएको छ। पहिलेजस्तो दुःख भोग्नुपर्ने अवस्था छ अहिले। यहाँको बसाइसराइ अहिलेको होइन। जति पनि घरहरू रित्तिएका छन्। तिनीहरू अहिले रित्ता भएका होइनन्। तत्कालीन द्वन्द्व र त्यसपछिको सङ्कटकालको बेलामा विस्थापित भएकाहरू धेरै छन्’, उनले भने, ‘त्यो बेलामा माओवादी पक्षबाट चन्दा माग्ने काम धेरै भयो। चन्दा नदिए ज्यान लिने धम्की आएपछि गाउँलेहरूले बजारको बसाइलाई सुरक्षित ठाने। जसको आर्थिक अवस्था राम्रै थियो र उनीहरू बजारमा सर्न सक्ने क्षमताका थिए उनीहरू गाउँबाट विस्थापित भए। नेपाली आर्मी पुलिस सहित भारतीय आर्मीमा काम गरिरहेका तथा पेन्सनरहरूले गाउँ त्यागे। उच्च ओहदामा रहेकाहरू डरकै कारण विस्थापित भए।’

अहिले फाटफुट रूपमा बसाइसराइ गर्नेहरू रहेको भए पनि उनीहरू अस्थायी रूपमा मात्रै बजारमा गएको उनको भनाई छ। श्रीमानले विदेशमा कमाउने र गाउँमा रहेकी श्रीमतीले सन्तानलाई गुणस्तरीय शिक्षा दिने तथा रोजगारीको अवसरले बजारमा बस्ने गरेको भए पनि उनीहरू पुर्ख्यौली थलोमा नै फर्केर आउने रिमाल बताउँछन्।

आर्थर डाँडाखर्कको जनसङ्ख्या झन्डै ६५ सय रहेको छ। करिब छ सय घर रहेको वडाका करिब दुई सय रित्ता अवस्थामा रहेका छन्। बजारमा बस्दै आएका कतिपय घरबारीको हेरचाह गर्न बेलाबेलामा गाउँ जाने र घर संरक्षणको प्रयास गर्ने गरेको भए पनि केही घरहरू भत्किने अवस्थामा पुगेका छन्। कतिपयमा झार उम्रिएको छ त कतिपय घरका छाना चुहिएका छन्।

जिल्लाकै मोदी गाउँपालिका–८ चित्रेको अवस्था पनि उस्तै छ। अहिले ‘होम स्टे’ का कारण पोखरासहित देशका अन्य ठाउँबाट पनि मान्छे तानिरहेको चित्रेको ‘होम स्टे’ आसपासका घरहरू रित्ता बनेका छन्। परम्परागत शैलीमा ढुङ्गाका छाना हालेर बनाएका घरहरू भत्किने अवस्थामा पुगेका छन्।

द्वन्द्वको बेलामा चन्दा तिर्नु भन्दा बजारमा सरेर सुरक्षित हुने निर्णयका साथ बसाइ सरेर बजार आएकाहरू शान्ति स्थापना भएपछि पनि गाउँ फर्किएर गएका छैनन्। तत्कालीन समयमा ज्यू धन बचाउनकै लागि बजारमा आएकाहरूले बजारमा नै केही न केही पेसा, व्यवसाय गर्दै आएका छन्। बजारको बसाइमा जमेका उनीहरू सुविधा कम भएका गाउँमा फर्किएर जान चाहँदैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.