|

चन्द्रौटा : लुम्बिनी प्रदेशका उद्योग‚ पर्यटन विकास तथा यातायातमन्त्री जानकीप्रसाद यादवले शिवगढीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका-९ रमुवादहमा आयोजित शिवरात्रि मेलाको बिहीबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिवगढीलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

युद्धका क्रममा प्रयोग भएको विभिन्न सामाग्री शिवगढीमा रहेकोले ती सामाग्रीहरूलाई आकर्षणको केन्द्र विन्दु बनाउनुपर्ने उनको भनाइ थियो। ‘शिवगढी ऐतिहासिक क्षेत्र हो, अहिले शिवगढी पुग्न केही समस्या छ। यसको समाधान गरेर पर्यटकीय क्षेत्र बनाउनु आवश्यक छ,’ यादवले भने, ‘शिवरात्रिको समयमा मात्र हैन अन्य समयमा पनि भक्तजनलाई शिवगढी पुर्‍याउनुपर्छ।’

शिवराज नगरपालिका वडा ९ का अध्यक्ष गोपाल थारुले शिवगढी कपिलवस्तुकै ऐतिहासिक तथा धार्मिक स्थल रहेको बताए। शिवगढीको विकासमा प्रदेश र केन्द्रले उपेक्षा गरेको भन्दै यसै क्षेत्रले मन्त्री पाएकाले विकास हुनेमा आशावादी रहेको उनले बताए।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य मिना परियारले शिवगढीलाई उत्कृष्ट गन्तव्यको रुपका विकास गर्नुपर्ने बताइन्।

नेकपा माओवादी केन्द्र शिवराज नगर समितिका कार्यवाहक अध्यक्ष चिन्ता परियारले प्रदेशको राजधानीसँग सटेको शिवगढीलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले स्थानीयहरूको संरक्षणमा अहिलेसम्म शिवगढी रहेकोले अब गुरुयोजना तयार गर्नुपर्ने माग गरे।

शिवगढी साइनिङ स्टार युवा क्लबको आयोजनामा भएको मेला ३ दिन चल्ने मेला संयोजक प्रकाश रोकाले बताए। मेलामा कलाकारहरूको प्रस्तुतिसँगै मन्दिरमा पूजापाठ हुने रोकाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.