|

पर्वत : जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीको रुग्दीस्थित चाउका फाँटमा रहेका ‘झाँक्री थान’ मा वर्षमा दुई पटक पूजाआजा हुन्छ। धान रोपेर सकेपछि भदौमा पहिलो पूजा हुन्छ।

‘झाँक्री’ का नाममा पाठ गरेपछि वायुमण्डलसम्मै धूवाँ पुग्ने गरी ‘होमन’ गरिन्छ। त्यो पूजाले धान खेतीमा किरा फट्यांग्रा नलाग्ने, खेती नमर्ने, असिना नपर्ने, आवश्यकता अनुसार वर्षा हुने तथा खेतलाई चाहिने वातावरण मिल्ने विश्वास छ।

‘झाँक्री थान’ मा अर्को पूजा धान भित्र्याउने बेला मङ्सिर महिनामा हुन्छ। मानिसलाई खान पुगोस्, खानाबाट कोही पनि वञ्चित हुन नपरोस्, भित्र्याएको धानबाट खान पुगोस्, दान गर्न पुगोस्, थन्क्याएको धानमा किरा नलागोस्, भन्ने लगायतका कामना गरिन्छ।

‘झाँक्रीले दिनुभएको छ र पोत हामी सबैको कल्याण भएको छ। विज्ञान आफ्नो ठाउँमा ठिक छ तर विज्ञान आधुनिक अवस्थामा आउनुभन्दा अगाडि के थियो? धार्मिक आस्था नै थियो। मेरो जे जे प्रगतिको भएको छ झाँक्रीसहितका देवताका आशीर्वादले भएको छ’, साहित्यकार तथा स्थानीय टुकनाथ रेग्मी भन्छन्, ‘हामीले ईश्वरमा विश्वास गर्न सके मात्रै ईश्वरले हामीलाई विश्वास गर्ने हो। यहाँ भएका झाँक्री, भँएर, भवानी, नाग लगायतको पूजाले हाम्रो कृषिका लागि कहीँ न कहीँ काम गरेकै छन्।’

‘झाँक्री’ तथा ‘भएँर’ को लामाका रूपमा पूजा गर्दै आइरहेका सोही ठाउँका बुद्धिसागर रेग्मी पनि ती देवताका नाममा गरिने ‘होमन’ बाट निस्कने सुगन्धले उनीहरू खुशी भई कृषकले गरेको मिहिनेत राम्रो हुने बताउँछन्। खेती लगाएपछि भदौमा र मङ्सिरमा धान काट्ने बेला गरेर दुई पटक ‘झाँक्री’ को तथा वर्षमा तीन पटक ‘भएँर’ को पूजा गर्ने गरेको उनले बताए।

‘भएँरको पूजा वर्षमा तीन पटक हुन्छ। जेठमा वर्षा होस, बीउबिजन राम्रो होस भनिन्छ। भदौमा वर्षा होस, खेतीमा किरा नलागुन्, खेती फस्टाओस् भनिन्छ। मङ्सिरमा सबै थन्क्यायौँ, देवताले पनि केही अंश लिनुहोस् भनेर देवताका नाममा अर्पण गरिन्छ’, उनले भने, ‘हामी सबैको विश्वास यही नै रहेको छ। हामी सबै गाउँले नछुटाईकन यी पूजा गर्दै आइरहेका छौँ। कतिऔँ वर्ष पहिलेबाट सुरु भएका होला त्यो थाहा छैन। तर हामी यसमा विश्वास गर्छौँ।’

जिल्लाकै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक ऋषिराम पौडेलले पनि आफूले ‘खेती राम्रो होस्’ भनेर गर्ने गरिएका सबै भगवानको पूजाआजा गर्दै आएको बताउँछन्। ‘लुतो फाल्ने’ देखि ‘हरेलो’ सम्मका सबै पूजा र मौलिक परम्पराहरू आफू सहित त्यो क्षेत्रका कृषकले गर्दै आएको उनले बताए। ‘हरेलोमा कटुसको हाँगामा पूजा गर्दै कटुसकै पातमा धानको ढुटो पोका पारेर परालको त्यान्द्रोले झुण्ड्याएर खले गराको डिलमा लगेर अड्याउने चलन छ। लुतो फाल्दा खेती राम्रो होस् भनेर धानको बिरुवा राखेर पूजा गरिन्छ’, उनले भने, ‘त्यही बेलामा मासको गेडामा पानी चढाइन्छ। बिहान उठ्दा मासका गेडा फुटेका भएमा पानी पर्छ र खेती राम्रो हुन्छ भन्ने विश्वास छ।’

खेतीबाली सप्रिने आसाका साथमा पूजाआजा हुँदै आएको अर्को महत्त्वपूर्ण पूजा ‘नाग पूजा’ पनि हो। नाग पञ्चमीको दिनमा नागको पूजा गर्दा ‘पृथ्वी भन्दा तल रहेर पृथ्वी धानेर बसेको विश्वास गरिएका’ नाग खुसी हुने विश्वास रहेको छ। नाग रिसाए भने ‘चाल’ मा आउने (हल्लिने) र त्यही कारण जमिन फाट्ने, जमिनको अवस्थिति बिग्रिने लगायतका विश्वास यो क्षेत्रमा गर्ने गरेका छन्। 

‘नागपूजा गरेपछि भूमिको रक्षा हुन्छ। जुन भूमिमा हामीले केही फलाएर पेट पालेका छौँ, त्यही भूमिको रक्षा गर्ने काम नाग देवताको हो। नागको पूजा गरेपछि गाईबस्तु र मानिसको रक्षा हुन्छ, खेतीपातीको रक्षा हुन्छ,’ सदरमुकाम कुश्मा बजारमा बस्दै आएका पण्डित यज्ञप्रसाद तिमिल्सिना भन्छन्, ‘प्रायः नाग पूजा गर्दाको दिनमा वर्षा पनि भएको हुन्छ। नागले यो वातावरण मिलाउन भूमिका खेल्नुभएको हुन्छ। नागले रक्षा गरे मात्रै हाम्रो घर गोठको रक्षा हुने हो।’ वैज्ञानिक रूपमा हेर्ने हो भने पनि ‘नाग’ को रूपमा हेर्ने सर्पको पर्यावरणीय महत्त्व रहेको छ। त्यो मात्रै नभई कृषि बालीका लागि शत्रु जीव मानिने मुसा खाएर ‘मुसा आतंक’ लाई नियन्त्रणमा राखेर कृषि बाली जोगाउन सर्पको भूमिका रहेको हुन्छ। 

लामो समयसम्म खडेरी परेमा भवानीको पूजा गर्ने तथा वर्षाका देवताका रूपमा चिनिने भगवान् विष्णुको नाममा अखण्ड कीर्तन गरेमा वर्षा हुने विश्वास पनि कृषकहरूमा छ। धान रोप्ने असार साउनको बेलामा लामो समय वर्षा नहुँदा ‘पानी देऊ भगवान्’ भन्दै भजन कीर्तन गरिरहेका तथा भगवतीको पूजा गर्ने भवानी मन्दिरहरूमा कृषकहरूले पूजा गरेको पनि देख्न पाइन्छ। अखण्ड कीर्तन देख्न पाइए पनि खेतमा रहेका ‘थान’ मा गरिने ‘भवानी पूजा’ भने कम मात्रामा देख्न पाइन्छ। गाउँमा देवी दुर्गाका मन्दिरहरू भएको भए त्यहीँ नै नित्य पूजा हुने भएकाले खेतमा ‘थान’ राखेर पूजा गर्नु नपर्ने कृषक बताउँछन्। तर गाउँमा देवीको नित्य पूजा नहुने भएमा भने खेतमा नै कम्तीमा पनि वर्षको एक पटक पूजा गर्नुपर्ने उनीहरूको धारणा छ। 

जिल्लाका कतिपय ठाउँमा कृषि क्षेत्रका लागि भगवानका नाममा गरिने पूजाहरू कायमै रहेको भए पनि बसाइसराइका कारण कतिपय ठाउँमा लोप हुने खतरामा पनि देखिएका छन्। बसाइसराइका कारण गाउँघरमा बस्ती पातलिँदै जानु,  जान्ने र पुरानो पुस्ताले गाउँ छाड्दा गाउँमा जन्मिएका नयाँ पुस्ताका बालबालिकाहरूले पुरानो पुस्ताको विश्वास र चलनका बारेमा थाहा नपाउनु, नयाँ पुस्ताले आधुनिकता र प्रविधिका कारण पुराना शैलीमा चासो नदिनु लगायतका कारण मौलिक परम्परा संकटमा छन्।

गाउँमा रहेका युवा पनि पेसा, व्यवसाय र रोजगारीको सिलसिलामा देशभित्रका सहरदेखि विदेशसम्म रहँदा स्थानीय प्रचलन, कला, संस्कृति र मौलिकताहरू नयाँ पुस्तामा सर्न नपाएको अवस्था छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.