|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका साँस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने बताएकी छिन्।

नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको भन्दै राष्ट्रपति भण्डारीले पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताएकी हुन्।

महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने धारणा राखेकी छिन्। 

पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवत खण्ड र मानस खण्डको भूभाग मूलभूत रूपमा नेपालमा पर्ने उनको शुभकामना सन्देशमा उल्लेख छ।

पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरूपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक आकर्षणको केन्द्र र पवित्र तीर्थस्थल रहेको राष्ट्रपति भण्डारीले प्रष्ट पारेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.