|

दैलेख : जिल्लाको आठबीस नगरपालिकाको राकम कर्णालीमा रहेको राकम आधारभूत अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिएको छ सोमबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।

अक्सिजन प्लान्ट उद्घाटनसँगै राकम कर्णाली हुँदै कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरू, अछाम, कालिकोट, दैलेखका पश्चिम भूभागका बासिन्दलाई आवश्यक पर्ने अक्सिजनको सहज हुने भएको छ।

कोरोना महामारीका ताका गैरआवासीय सङ्घ (एनआरएनए)ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग गर्ने प्रस्तावअनुसार प्रतिष्ठानले उक्त प्लान्ट आठबीसमा रहेको आधारभूत अस्पतालमा जडान गर्न निर्णय गरेसँगै प्रक्रिया सुरु गरिएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा आठबीसमा आधारभूत अस्पताल ओटी सेवा, विशेषज्ञ सेवा सञ्चालन भइरहेको थियो। अक्सिजन प्लान्ट स्थापनासँगै राजमार्गमा हुने दुर्घटनाका घाइते र अन्य समस्यामा परेका नागरिकहरूलाई अक्सिजन प्रदान गर्न सहज हुने भएको छ।

अक्सिजन प्लान्ट स्थापना कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताए। उनले कर्णाली सरकारले अस्पताल निर्माणमा र जनशक्ति व्यवस्थापन प्राथमिकता राखेर काम गर्दै आएको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. मङ्गल रावलले आठबीस नगरपालिकाको राकममा स्थापना गरिएको अक्सिजन प्लान्टले दैनिक १७० देखि २०० सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता रहेको बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.