|

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका-५ नौडिहवामा कालोपत्रे सडकको बीचमा पोल ठडिएका छन्।

स्थानीय मनिराम थारूले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै पोल गाडेपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ। प्लटिङ गर्नेहरूको लापरवाहीले अहिले सडकभर पोल ठड्याइएका छन्।

कालोपत्रे सडक निर्माण गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नाप जाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारूले बताए। ‘कुनै जानकारीबिना सडक निर्माण भयो। मेरो अधिकांश जग्गा सडकमा परेको छ’‚ थारूले भने‚ ‘यसरी कसैको व्यक्तिगत जग्गामा सडक बनाउने अधिकार छैन।’

नौडिहवाको दक्षिणतर्फ रहेको कालोपत्रे सडकमै पोल गाडेपछि त्यस सडकमा सवारी हिँडडुल समेत गर्न सकेका छैनन्। सडक बनाउँदा नाप जाँच भए पनि पछि पुनः थारूले नाप जाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बन्जाडेले बताए।

उक्त क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बन्जाडेले जानकारी दिए।

सडकमै पोल गाड्नु गैरजिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीले बताए। नापी गर्ने निकायले फरक फरक नापी दिँदा स्थानीयमा विवाद र समस्या निम्त्याएको चौधरीको कथन छ।

सडकको बीचमा पोल हुँदासम्म सरोकार निकाय मौन रहेकाले छिटोभन्दा छिटो निकास हुनुपर्ने उनले जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.