|

चन्द्रौटा : उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। आव ०७१/७२ मा प्रति क्विन्टल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नपाएको भन्दै रकम माग गरिएको छ।

कपिलवस्तुका उखु किसान यसरी आन्दोलित भएको ७ वर्ष भइसक्यो। यो अवधिमा किसानले पटक पटक ज्ञापन पत्र र आन्दोलन गर्दै आएका छन्। किसानले आश्वासन पाए पनि माग भने अहिलेसम्म पूरा नभएको दुखेसो पोखेका छन्।

महालक्ष्मी सुगर मिल्सले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान संघको नाममा गरिदिने, विसं ०७३/७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर मिलले कम मूल्यमा उखु खरिद गरेकाले सो रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

सरकारले उखुको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानलाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए। किसानको मागमा सिँचाइको व्यवस्था, किसानले ट्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापनालगायत दशबुँदे माग राखेका छन्।

पटक–पटकको आन्दोलनपछि २०७७ साल पुस १३ गते सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी गरिरहेको अध्यक्ष चौधरीले बताए।

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष चौधरीले फागुन मसान्तसम्म पनि कुनै सुनुवाइ नभएमा माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्ने जानकारी दिए। पटक–पटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित भइरहेको चौधरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.