|

सर्लाही : सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे र जंगल आसपासका बासिन्दा डढेलोको त्रासमा परेका छन्। सुक्खा र हावाहुरीको मौसममा जिल्लाको चुरेभेगका जंगलमा भीषण डढेलो लाग्ने गरेको छ।

जिल्लाको उत्तरी चुरे क्षेत्र र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजना, घुर्कौली, मूर्तिया वन क्षेत्रमा पनि वर्षेनि डढेलो लाग्ने गरेको स्थानीयले बताएका छन्। केही दिनअघि मूर्तिया, लालबन्दी, घुर्कौली, धरहरा वन क्षेत्रमा आगलागी भएको छ।

वसन्त ऋतु सुरु भएसँगै रुख, बिरुवाको नयाँ पात आउने र पुराना पात झरेर सुकेको समयमा जंगल क्षेत्रमा डढेलो लाग्ने गरेको छ। चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोला सतासका ९० वर्षीय स्थानीय विमानसिंह लामाले घरनजिकैको चुरे जंगलमा वर्षेनि लाग्ने डढेलोका कारण फागुनदेखि जेठसम्म ४ महिना त्रासमा बस्नु परेको गुनासो गरे।

‘पहिले जंगल घना थियो, प्रशस्त जंगली जनावर देखिन्थे, अहिले देखिँदैनन्, सबै लोप भइसके‚’ उनले भने। वर्षेनि लाग्ने डढेलोले वन्यजन्तु लोप हुँदै गएको उनले सुनाए।

चुरे क्षेत्रका दर्जनौ गाउँबस्ती डढेलोको जोखिममा छन्। वस्तुभाउ चराउन गएका गोठालाहरुले चुरोट बिँडी खाएर राम्रोसँग ननिभाइकन जथाभावी ठूटा फ्याँक्नाले डढेलोको जोखिम बढ्ने गरेको स्थानीयहरु बताउँछन्।

अघिल्ला वर्ष झैँ यो वर्ष पनि डढेलो लाग्ने समय सुरु भए पनि डढेलो रोकथामका लागि कुनै निकायबाट पहल नभएको लालबन्दी–१२ पत्थकोटका शिक्षक हरि गुर्मछानले गुनासो गरे।

गुर्मछानका अनुसार विगत वर्षहरुमा डढेलोका कारण जंगलनजिक र चुरे क्षेत्रमा बसोवास गर्नेले जनधनको क्षति बेहोर्नु परेको अनुभव सुनाए। डढेलो नियन्त्रणमा सम्बन्धित स्थानीय तहको उदासिनताले चुरे क्षेत्रका बासिन्दाले दुःख पाइरहेको स्थानीयको आरोप छ।

सबडिभिजन वन कार्यालय मूर्तियाका प्रमुख चन्द्रप्रकाश यादवले जंगलमा डढेलो लाग्दा मानव बस्तीसमेत जोखिममा पर्ने भएकाले सचेत हुनुपर्ने बताए।  त्यसमा पनि स्थानीय अझ बढी सचेत हुनुपर्ने उनी बताउँछन्।

वन तथा वन्यजन्तुलाई डढेलोबाट जोगाउन वर्षेनि अग्नि नियन्त्रक खटाएर वन समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिमसमेत प्रदान गर्दै आइरहेको जानकारी दिए। सर्लाहीको उत्तरी चुरे क्षेत्रको पश्चिम बागमतीदेखि पूर्व बाँकेसम्म ३४ किलोमिटरमा फैलिएको छ।

विशेषगरी सागरनाथ वन विकास परियोजनाको पलोट क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो। चरिचरन क्षेत्रका रुपमा रहेको पलोटमा घाँस र पालुवा चाँडो पलाउने भन्दै स्थानीय बासिन्दा र गोठालाले नै डढेलो लगाउने गरेका छन्।

परियोजनाको फूलजोर, सागरनाथ, रानीगञ्ज, धरहरालगायत क्षेत्रमा डढेलो लागेको छ। वन क्षेत्रमा डढेलो लगाउँदा बोटविरुवा नष्ट हुने, जङ्गली जनावर सङ्कटमा पर्ने र वायु प्रदूषण बढ्नेबारे सचेतना नहुँदा छेउछाउका बस्तीकै स्थानीयले नै डढेलो लगाउने गरेका छन्।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख (डिएफओ) मञ्जुर अहमदले १/२ ठाउँमा लागेको डढेलो वन रक्षक र अन्य कर्मचारी मिलेर निभाइरहेको बताए। जिल्ला वन प्रमुख अहमदले स्थानीय आफैँ सचेत र सक्रिय नभएसम्म वन क्षेत्रलाई डढेलोबाट बचाउन कठिन रहेको बताए।

यो वर्ष हिउँदमा वर्षा हुन नसक्दा तराई मधेशका जिल्लामा सुक्खा बढेको छ। यसले गर्दा मध्य माघदेखि नै वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो।

वन क्षेत्र प्रायः धेरै सुक्खा हुने फागुन, चैतमा जताततै डढेलो लाग्छ। यो वर्ष भने पानी पर्न नसक्दा अहिलेदेखि नै अत्यधिक सुक्खा बढेकाले डढेलो लाग्न सुरु भएको हो।

डढेलो लाग्ने याम सुरु भएसँगै बँदेल, हरिणजस्ता जिल्लाका वनमा रहेका वन्यजन्तु बस्ती र किसानको खेतबारीमा अत्यधिक आउन थालेका छन्। यो बेला ती वन्यजन्तुको शिकारसमेत बढ्ने गरेको स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.