|

दैलेख : नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले देश काँग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रव्यूहमा फसेको बताएका छन्।

पार्टीको मिसन (ग्रासरुट) अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकाय बाडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रिजालले काँग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रव्यूहमा मुलुक फसेको बताएका हुन्।

उनले पदका लागि मात्रै बनेको काँग्रेस माओवादी सहितका अन्य साना दलहरूको गठबन्धनले देशलाई क्षति मात्र गर्ने बताए। उनले टाउकाको मूल्य तोक्ने र तोकिनेबीचको सहकार्यले मुलुकलाई गन्तव्यहीन बनाएको बताए।

उनले भने, ‘जसरी एउटा डोरी दुईतिरबाट बराबर बल लगाएर जति तान्दा पनि जहाँको त्यहीँ हुन्छ र बल खर्च भए पनि गति आउँदैन। त्यसैगरी दुई विपरीत दिशातिर फर्केका काँग्रेस र माओवादीले देशलाई अघि बढाउँछौँ भनेर जति गफ लगाए पनि विपरीत दिशातिर फर्केकाहरूको सहकार्यबाट देश अघि बढ्न सक्दैन।’ 

अहिलेको गठबन्धन कुनै नीति तथा कार्यक्रममा आधारित नभई पदीय भागबन्डा र एमालेलाई कसरी एक्लो बनाउने भनेर एमालेको त्रासका कारण बनेको नेता रिजालले बताए।

‘विदेशीका एजेन्डा, काँग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रव्यूहमा देश फसेको छ। यसबाट देशलाई मुक्त गर्न एमाले बहुमतसहित सरकारमा आउनुपर्छ’, रिजालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.