|

 सोलुखुम्बु : स्ववियु निर्वाचनको मिति नजिकिदै जाँदा नेचासल्यान गाउँपालिकामा रहेका २ वटा क्याम्पसमा तालाबन्दी भएको छ।

वडा नम्बर ३ मा रहेको हिमाल दर्शन क्याम्पस र वडा नम्बर २ मा रहेको बी.पी. कोइराला संस्कृत विद्यापीठमा अनिश्चितकालका तालाबन्दी गरिएको हो।

हिमाल दर्शनमा स्ववियु निर्वाचन निर्देशिका, कार्यविधि र विभिन्न विद्यार्थी संघ सगठनहरूसँग भएको सहमतिविपरीत विद्यार्थी भर्ना र एकलौटी रूपमा कार्यतालिका सार्वजनिक गरिएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज (बुधबार) क्याम्पसको प्रशासन विभाग र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्।

निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित ढंगबाट सम्पन्न गर्न आफूहरूले गरेको आग्रहलाई बेवास्ता गर्दै क्याम्पस प्रशासन र निर्वाचन समिति नेविसंघसँगको साँठगाँठमा एकलौटी अघि बढेको आरोप लगाइएको छ।

अनेरास्ववियु हिमाल दर्शन क्याम्पस कमिटी अध्यक्ष लीला कट्टेल र क्रान्तिकारीका अध्यक्ष प्रवीण राईले संयुक्त विज्ञप्ति जारी गरी एकलौटी रूपमा गरिएका विद्यार्थी भर्ना रद्द र सबै विद्यार्थी संगठनको सहमतिमा साझा निर्वाचन कार्यतालिका सार्वजनिक गर्न प्रशासन र निर्वाचन समितिलाई आग्रह गरेका छन्।

क्रान्तिकारीका अध्यक्ष प्रवीण राईले माग पूरा नभएसम्म ताला नखुलाउने बताए।

यसैगरी बी.पी. कोइराला संस्कृत विद्यापीठको कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै नेविसंघले मंगलबार कार्यालयमा तालाबन्दी गरेको हो।

क्याम्पस प्रशासन, अनेरास्ववियु र अखिल क्रान्तिकारीले नेविसंघलाई बाईपास गरी अघि बढेको नेविसंघले आरोप लगाएको छ।

नेविसंघका उम्मेदवारलाई करार जागिरको बहाना बनाई अयोग्य बनाएर अवैध ढंगबाट अनेरास्ववियु र अखिल क्रान्तिकारीलाई सर्वसम्मत बनाएको विज्ञप्तिमा उल्लेख छ।

साथै विधि र प्रक्रियाबाट स्ववियु निर्वाचन नगराए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.