|

काठमाडौंः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि शिलान्यास भएको एक वर्षपछि बल्ल ऋण सम्झौता कार्यान्वयनमा आएको छ। 

 चिनियाँ पक्षसँग ‘स्क्रो एकाउण्ट’ खोल्ने विषयमा एक वर्षसम्म पनि सहमति जुट्न नसक्दा  सम्झौता कार्यान्वयन हुन सकेको थिएन। दुई साताअघि यस्तो एकाउण्ट खोल्ने सहमति भएसँगै सम्झौता कार्यन्वयका लागि बाटो खुलेको हो। 

'सम्झौता कार्यान्वयन अब सुरु भयो, छिट्टै नै निर्माण कम्पनीले काम अघि बढाउन सक्नेछ', अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा उपसचिव युवराज पाण्डेले भने, 'चिनियाँ पक्षले नेपाललाई पत्र पठाएकोले अब बैंक खाता खोलेर आफूले लगानी गर्न चाहेको रकम ल्याइ लगानी गर्न नेपालले सक्नेछ।' 

चीनको एक्जिम बैंकले  खाता आफैं सञ्चालन गर्ने र आम्दानी तथा खर्च सोही खातामार्फत गर्नुपर्ने प्रस्ताव गरेपछि समस्या आएको थियो । नेपाल पक्षले यस्तो विषयमा सहमति दिननसक्ने भएकोले समाधान गर्न आग्रह गर्दै आएको थियो। 

'पोखरा विमानस्थल निर्माण कार्य अबको केही महिनापछि नै सुरु हुनेछ', संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले भने । विगतमा केही हतार गरेको देखिए पनि अब सबै विषय टुंगिएकोले केही महिनामै निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको उनले बताए।  

चार दशक अघिदेखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्कीको छिन्नेडाँडामा निर्माण हुँदैछ। चिनियाँ एक्जिम बैंकसँग सहुलियत दरमा ऋण लिएर सरकारले विमानस्थल निर्माण गर्न लागेको हो।

सरकारले एक्जिम बैंकसँग विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलरमध्ये एक तिहाई रकम बिनाब्याज र बाँकी रकम २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो।

निर्माण सुरु भएको चार वर्षभित्र अर्थात सन् २०२० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा विमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरका उडान तथा अवतरण हुनेगरी निर्माण गर्न लागिएको हो । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिइएको छ । २ हजार ५ सय मिटर लम्बाइ तथा ४५ मिटर चौडाइ रहने उक्त विमानस्थलमा एकल धावनमार्ग रहनेछ ।   

नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लोपटक विमानस्थल निर्माण लागत २१ करोड ५० लाख अमेरिकी डलर तोकेको छ। यो रकममा ५ करोड अमेरिकी डलर भने स्केलेसन र विदेशी मुद्रा विनिमयसँगको लागत जोडेर २१ करोड ६० लाख डलर ९ करिब साढे २१ अर्ब रूपैयाँ पुगेको हो।

एक्जिम बैंकको आर्थिक सहयोगमा यो विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीलेमात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने प्रावधान तोकिएको थियो। यो विमानस्थल निर्माण इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा हुँदैछ। यो प्रक्रियामा निर्माण कम्पनी आफैंले डिजाइन गरी निर्माण कार्यसमेत सम्पन्न गर्ने प्रावधान छ। यस्तो प्रक्रिया विमानस्थल निर्मााणमा पहिलो हुनेछ। 

नयाँ बन्ने विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० लगायतका जहाज अवतरण गर्न सक्नेछन्। विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिजयुक्त भवन तथा कार्गो भवन निर्माण गरिनेछ।

एरोब्रिज र कंक्रिटको धावनमार्ग बनाइनेछ।  विमानस्थलको लागि अझै ६ सय २९ रोपनी जग्गा अधिग्रहण गनुपर्ने छ। तर पहिलो चरणमा ८०.३ रोपनी जग्गा अधिग्रहण गत वर्ष सम्पन्न गरेको छ। सरकारले करिब ४० वर्षअघि विमानस्थल बनाउन ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेकोे छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.