|

चन्द्रौटा : चलिरहेको परीक्षा प्रभावित पारेर निजी स्रोतका शिक्षकहरू आन्दोलित भएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरूले आइतबार चलिरहेको परीक्षा प्रभावित पारेका छन्। शिक्षक नभएपछि नेपाल आदर्श उच्च मावि शिवपुर र जनचेतना माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई अरु नै गार्ड राखेर परीक्षा सञ्चालन गरेका छन्।

परीक्षा चलिरहेको बेला आन्दोलित शिक्षकहरूले मेयरलाई ज्ञापनपत्र बुझाएका छन्। विद्यालय स्रोत शिक्षक तथा कर्मचारी सङ्घर्ष समितिले ६ बुँदे माग राखी शिवराज नगरपालिकामा ज्ञापन बुझाएका छन्।

निजी स्रोतका शिक्षकहरूले शिवराज नगरपालिकाको नगरप्रमुख अजय थापालाई ज्ञापन बुझाएका छन्। विद्यालय व्यवस्थापन समितिको विज्ञापनमा लिखित मौखिक परीक्षामा उत्तीर्ण भई प्रक्रियाबद्ध रूपमा थोरै सेवा सुविधा लिई विद्यालयलाई योगदान पुर्‍याएको भए पनि अहिले रोजगार खोस्ने काम भएको गुनासो गरेका छन्।

हाल नगरपालिकाबाट सञ्चालन हुँदै गरेको निःशुल्क शिक्षाले कार्यरत अनुभवी शिक्षक कर्मचारीलाई प्रोत्साहन गरी व्यवस्थापन गर्नुपर्ने शिक्षक तथा कर्मचारी सङ्घर्ष समितिका अध्यक्ष प्रताप चौधरीले बताए। नगरपालिकाले भने अनुभवीलाई प्राथमिकता दिने तर परीक्षा दिएर आउनुपर्ने बताउँदै आएको छ।

शिवराज नगरपालिकाले निःशुल्क शिक्षाको लागि शिक्षकको आह्वान गरेकाले अब निजी शिक्षकहरू बेरोजगार बन्नुपर्ने भएको छ। विद्यार्थीहरूबाट सहयोगस्वरूप केही रकम लिएर निजी स्रोतमा राखिएका शिक्षकहरूको ठाउँमा नगरले नयाँ शिक्षक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.