|

चन्द्रौटा : सरकारी कार्यालयमा सेवाग्राही फाइल बोकेर कोठा चाहर्नुपर्ने र समयमै काम नहुँदा हप्तौँ दिन एउटै कार्यालयमा सेवाग्राही धाउने गर्छन्। कपिलवस्तुको शिवराज नगरपालिकाले यस्तो समस्यालाई समाधान गर्न सेवा प्रवाह कक्ष सञ्चालनमा ल्याएको छ।

करिब १ महिनादेखि गृहकार्य गरेको नगरले बुधवार लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री जानकीप्रसाद यादवद्वारा रिबन काटेर सेवा प्रवाह कक्षको उद्घाटन गरेको छ। नगरको संरचना अभाव भए पनि सहायता कक्षको प्रभावकारिताको विषयमा प्रश्न पनि उठेको छ।

अब सेवाग्राहीले फाइलहरू सेवा केन्द्रमा बुझाउनुपर्नेछ। सेवा केन्द्रमा नजिकै विश्रामका लागि स्टिल सोफा राखिएको छ। उद्घाटन गर्दै मन्त्री यादवले प्रदेशकै नमुना काम गर्न सफल भएको बताए। सरकारी कार्यालयमा समयमा काम नहुँदा बदनाम भइरहेको अवस्थामा शिवराज नगरपालिकाले गरेको यो कामले सहज हुने बताए।

‘आफ्नो भवन नहुँदा केही असहज भए पनि यो योजना अब सधैँ लागू हुन्छ’, यादवले भने, ‘सेवा प्रवाहमा नगरका कर्मचारीको थप सक्रिय हुनुपर्छ।’

लुम्बिनी प्रदेशसभा सभा सदस्य अर्जुनकुमार केसीले सहायता कक्षा स्थापनाले नगरलाई जिम्मेवार बनाएको बताए। ‘सेवाग्रीलाई कहाँबाट सेवा लिने‚ के के कागजात आवश्यक छ ? धेरै कुरा जानकारी हुँदैन अब सहज हुनेछ’, केसीले भने।

नगरमा आउने सेवाग्राहीलाई सन्तुष्ट बनाउने नगरको योजनाअनुरूप सहायता कक्ष स्थापना गरेको मेयर अजय थापाले बताए। ‘काममा झन्झट र फाइल बुझाउने ठाउँ जानकारी नहुँदा सेवाग्राही समयमा सेवा नपाउने समस्या थियो’, थापाले भने, ‘नगरलाई हरेक दृष्टिकोणबाट नमुना बनाउने योजना छ। यसलाई सबैले सफल बनाउन सहयोग गर्नुपर्छ।’

उपप्रमुख शिवकुमारी थारूले सेवा प्रवाह कक्षसँगै स्तनपान कक्ष पनि सञ्चालमा ल्याएको बताइन्। टाढा टाढाबाट आउने महिला सेवाग्राहीलाई मद्देनजर गर्दै स्तनपान कक्ष निर्माण गरिएको बताइन्।

सामान्य निवेदन लगायतका काम पनि सहायता कक्षबाट पाउन सकिने गरी कर्मचारी व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.