स्याङ्जा : ६० वर्षीय किसान घिलेले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए अहिलेसम्म पेन्सन पाकिसक्थ्यो तर उनी अहिले पनि दैनिक ८२ रुपैयाँ १३ पैसामा काम गरिरहेका छन्।
शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिरमा नगरा बजाउने घिलेको दैनिकी वर्षौंदेखि उस्तै छ। जिल्लाकै दुर्गम मानिएको कालीगण्डकी गाउँपालिकामा थुप्रै बाटा बनेका छन्। यहाँका ८० प्रतिशत नागरिकको घरमा धारो र बिजुली बत्ती पुगेको छ। गाउँपालिकामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकासको गतिले ठूलै फड्को मारेको छ तर शाहवंशीय कुल मन्दिरको अगाडि रहेको सानो घरको कोठामा नगरा बजाउने ६० वर्षीय घिलेको दैनिकीमा कुनै परिवर्तन आएको छैन।
१७०८ सालदेखि बराजु हुँदै बुवा र बुवाको मृत्युसँगै किसान घिलेले पुस्तैनी पेशाका रूपमा मन्दिरमा दमाहा बजाउँछन्। उमेर हुँदासम्म कतै नगई पुर्खाको काम सम्हालेको उनले बताए। ‘उमेर पनि गयो, अब केही गर्न सक्दिनँ। जति दिए पनि यही मन्दिरमा काम गर्नुको विकल्प छैन’, उनले दुखेसो पोखे।
बिहान ५ बजे मन्दिरमा नगरा बजाउन पुग्ने घिले केही समयका लागि घर पुगेर सामान्य काम गरेर ८ बजे पुनः मन्दिर पुग्छन्। पूजा नहुँदा २ बजेपछि घर जाने घिले घाम अस्ताउने बेलामा फेरि नगरा बजाउन मन्दिरमा हाजिर हुन्छन्। ऐतिहासिक महत्त्व बोकेको मन्दिरको परम्परा बचाउन विगतमा योभन्दा अझ थोरै रकममा काम गरेको उनले बताए। घिलेले उचित पारिश्रमिकको व्यवस्था गरिदिन सबैसँग आग्रह गर्दै आएका छन्।
नगरा बजाउने घिलेको पारिश्रमिक थोरै रहेको बताउँदै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले गुठी संस्थानबाट वार्षिक ८४ हजार र मन्दिरमा गरिने भेटी दानमा उठ्ने रकमबाट मन्दिरको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। उनले त्यसैबाट घिलेको वार्षिक ३० हजार रुपैयाँ व्यवस्थापन गरिएको जानकारी दिए।। मन्दिरको आर्थिक अवस्था कम हुँदा घिले मर्कामा परेको बताउँदै थापाले पालिकासँग समन्वय गरेर केही रकम थप गर्ने प्रतिबद्धता जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।