|

काठमाडौं : कविता र रंगमञ्चको संयोजनसहित प्रयोगात्मक ‘पृष्ठभूमिमा कविता’ नामक कार्यक्रम काठमाडौंको सर्वनाम थिएटरमा प्रस्तुत भएको छ।

रोटरी क्लब अफ रुद्रमती, रोटार्‍याक्ट क्लब अफ रुद्रमती, रोटार्‍याक्ट क्लब अफ रुद्रमती बबरमहल, रोटार्‍याक्ट क्लब अफ मनोहराको संयुक्त आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो।

दुई चरणमा भएको कार्यक्रममा कवि राजु झल्लु प्रसाद, रसिक राज, अभिषेक राज सिंह थापा, श्रीजु सरल र सुरज पराजुलीले कविताको विषयवस्तुअनुसारको परिवेशमा बसी सोही अनुरुपको चरित्र निभाई आ-आफ्ना कविताहरू प्रस्तुत गरेका थिए।

‘शृंखलामा कविता’ नामको पहिलो सेसन श्रीजु सरलबाट सुरु भएर अभिषेक राज सिंह थापाको प्रस्तुतिमार्फत समापन भएको थियो।

यसैगरि, ‘पृष्ठभूमिमा कविता’ नामको दोस्रो सेसनमा पाँचै जना कविहरू भुँइमा बसेर आ-आफ्नो कविताको पृष्ठभूमि (रचनागर्भ) सहित एकसाथ प्रस्तुत भएका थिए। दुई सेसनमा ५ कविहरूको १० कविता प्रस्तुत भएको थियो।

समकालीन कवितामा विभिन्न शिल्पको प्रयोग भइरहेको यस समयमा कविता प्रस्तुतिमा पनि प्रयोग आवश्यक छ भन्ने बोधसहित कार्यक्रम गरिएको संयोजक पूर्णिमा गिरिले बताइन्।

'कविताको सुर, तालसँगै यसले बोक्ने विचार, भाव, विम्ब, प्रतीक, स्थानीयतालाई रंगमंचीय ढाँचामा कवितात्मक भाव संयोजनसहित कविहरूले प्रस्तुत गरेका हुन्। साहित्यको श्रव्य भेदअन्तर्गत रहेको कवितालाई साहित्यको दृश्य भेद अर्थात् रंगमंचको विविधतासँग जोड्ने प्रयास गरेका हौँ। मूल्यांकनको जिम्मा सचेत कविता पारखी मनहरूलाई नै छाडेका छौँ', गिरिले भनिन्।

कार्यक्रमले कविताको वैचारिक शिल्प, भाषिक संरचनामा दखल नदिई कविहरूको कवितात्मक निजी मान्यता र विशेषतालाई अझ उजिल्याउने कोसिस गरेको उनले बताइन्।

कवितालाई दृश्य संरचनामा ढालेर अभिनयात्मक हिसाबले प्रस्तुत गर्न पाउँदा खुसी लागेको सहभागी कवि श्रीजु सरलले बताइन्।

'मेरो लागि यो बिलकुल नयाँ प्रयोग, नयाँ अभ्यास थियो। कविता सम्झिन खोज्दा याक्ट बिर्सिन्छु कि, याक्ट सम्झिन खोज्दा कविता बिर्सिन्छु कि जस्तो भइरहेको थियो। तर, स्टेजमा पुगेपछि सलल बगिदियो। मैले कसरी सम्झिन सकेँ भनेर अचम्म पनि लाग्दै थियो। सकेर निस्किँदा खुसी लाग्यो', उनले भनिन्‚ 'कविता वाचनको परम्परालाई भत्काउने दुस्साहस गरेका छौँ, यसबारे सचेत पाठकहरूले समालोचना गर्नुहुन्छ भन्ने लागेको छ।'

एकप्रकारको मनोस्थिति र मनोदशाबाट प्रेरित भई लेखिएका कविता र तिनमा प्रयोग विम्ब-प्रतिक आदिलाई दृश्यगत एवम् अभिनयात्मक नवीनतासहित प्रस्तुत गर्न पाउँदा बेग्लै अनुभव भएको सहभागी कवि रसिक राजले बताए।

'कुनै पनि कवितामा झिनो कथानक र पात्रको प्रयोग अनिवार्य नै हुन्छ, सोही कुरालाई रंगमंचको विविधतासँग जोड्ने प्रयास गरेका हौँ। चित्रात्मक शैलीमा कविता लेख्दै आइरहेको मलाई थिएटरमा यसप्रकार आफ्ना कविता प्रस्तुत गर्दा वेषभूषा, हाउभाउ, संवाद आदिका माध्यमबाट कविताको चरित्र निभाइरहेको महसुस भयो। कविता रङ्गमंच पढिन्थे तर प्रस्तुत हुँदा बोधगम्य र अझ फराकिलो हुँदो रहेछ', उनले भने।

कवितामा नाटकीय कलाकारिताको केही अंश पर्दा कविता अझै सशक्त हुने रहेछ भन्ने आफूलाई लागेको सहभागी कवि सुरज पराजुलीले बताए। 'कविता आफैँमा पूर्ण संरचना हो, यद्यपि यसले फरक-फरक पाठक/समीक्षक खोजिरहन्छ। किताब छाडेर थिएटरमा जाँदा यसका पाठक पनि बढेको महसुस गरेँ। बाँकी त, समीक्षकहरूलाई छाडिदिएका छौँ,' उनले भने।

 प्रस्तुतिका क्रममा एकअर्काका कवितालाई एकअर्कासँग जोड्नुपर्ने चुनौती र अवसर दुवै रहेको सहभागी कवि अभिषेक राज सिंह थापाले बताए।

'फरक-फरक मनोदशामा लेखिएका कवितालाई एउटै प्रवाहमा प्रस्तुत गर्नु पनि रमाइलो अनुभव हुने रहेछ। फेरि कवितामा रहेको विषयवस्तुलाई बाह्य रूपमा प्रकटीकरण गर्नका लागि पनि रंगमंचीय भाषाशैली र हाउभाउमा रूपान्तरणहरू चाहिँदा रहेछन्, मूल कवितालाई प्रभावकारी, आकर्षक र कौतूहलपूर्ण बनाउनका खोज्दा केही असहजता पनि भयो होला, यो हाम्रो पहिलो प्रयास थियो। हामीले कविता बिगार्न खोजेका होइनौं, यसको प्रस्तुतिमा नवीनता खोजेका हौँ', थापाले भने।

रोटरी क्लब अफ रुद्रमतीका अध्यक्ष रोटारियन किशोर त्रिपाठी, रोटार्‍याक्ट क्लब अफ रुद्रमतीका अध्यक्ष रोटार्‍याक्टर रोशन कुमार कार्की, रोटार्‍याक्ट क्लब अफ रुद्रमती बबरमहलका अध्यक्ष रोटार्‍याक्टर ऋषि पौडेल, रोटार्‍याक्ट क्लब अफ मनोहराकी अध्यक्ष रोटार्‍याक्टर सफला दाहाल त्यसैगरी डिस्टृक रोटार्‍याक्ट रिप्रीजेन्टेटिभ इलेक्ट रोटारियन रोशन कार्की, साथी सर्कल समूहका सुरज भट्टराईले खादा तथा प्रमाणपत्र वितरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.