|

कोरोना महामारीपश्चात सार्क देशका साहित्यकार तथा संस्कृतिविदहरुको मिलन फोस्वाल साहित्य महोत्सवमा भएको छ।  

सार्क देशहरूका लेखकहरूको संगठन ‘फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिटरेचर’ (फोस्वाल) को आयोजनामा तीनदिने फोस्वाल साहित्य सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको हो।

सम्मेलनमा नेपाली अध्येताहरू डा. रामदयाल राकेश, डा. एकप्रसाद दुवाडी‚ रूपसिंह भण्डारी र महेश पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए। नेपाली कवि गोपाल पराजुली, विधान आचार्य, भीष्म उप्रेती, सुमन पोखरेल, रञ्जना निरौला, नाज सिंह र रूपसिंह भण्डारीले कविता वाचन गरेका थिए।

समारोहमा बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानलाई उनका ३ पुस्तकका लागि मरणोपरान्त फोस्वाल लेखक सम्मान प्रदान गरिएको थियो।

यसैगरी नेपालका भीष्म उप्रेती, भुटानका डा. कुन्जाङ छोदेन र डा. रिन्जिन रिन्जिन, भारतका आलोक भल्ल, श्रीलंकाकी कञ्चना प्रियकण्ठा तथा श्रीलंकाकै कौशल्या कुमारसिंघेलाई ‘फोस्वाल साहित्य पुरस्कार’ प्रदान गरिएको थियो।

उद्घाटन समारोहको प्रमुख अतिथि भारतको आगा खान प्रतिष्ठानका अध्यक्ष नेसर मुन्जी थिए भने प्रसिद्ध इतिहासविद् तथा चिन्तक आशीष नन्दी प्रमुख वक्ता थिए।

कार्यक्रममा सार्कका ५ राष्ट्रसहित ८ देशका सर्जक र अध्येताहरूको प्रस्तुति रहेको थियो। महोत्सवमा वाचन गरिएका रचना र प्रस्तुत कार्यपत्रले लैङ्गिक समानता, वातावरणीय चेतना र लोकसाहित्यको महत्त्वमाथि विशेष जोड दिएका थिए। 

भारत, नेपाल, श्रीलंका, भुटान र बंगलादेशका साथै बिम्स्टेकका सदस्य थाइल्यान्ड, बर्मा र कम्बोडियाका लेखकहरू पनि सम्मेलनमा सहभागी थिए।

प्रतिष्ठानकी अध्यक्ष तथा साहित्यिक अभियन्ता अजीत कौरको परिकल्पनामा नयाँ दिल्लीको सिरी फोर्टस्थित ललितकला तथा साहित्य प्रतिष्ठानको सभा भवनमा आयोजित ६३ औँ सम्मेलन मार्च २८ मा सम्पन्न भएको थियो।

यसअघि सार्क साहित्य सम्मेलनको नाममा आयोजना हुँदै आएको साहित्य महोत्सवमा पाकिस्तानी र अफगानी लेखकलाई भाग लिन असहज हुन थालेपछि यसै वर्षदेखि नाम फेरेर फोस्वाल साहित्य सम्मेलन भन्न थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.