आफू जस्तै सारा संसार छ भन्ने सोच्दी हुन्
त्यसैले सजिलै भन्छिन् मेरी आमा, "नबोली बस"
सानो संसारमा समेटिएकीले "यस्तै हो" भन्दी हुन्
त्यसैले भन्ने गर्छिन् मेरी आमा "सहेर बस" ।
तिमीलाई के थाहा आमा, दुनियाँ कठोर छ भनेर
कसरी देखाऊ प्रतिरूप तिम्रो बन्दा-बन्दै गलेको
तिमीलाई के थाहा समय अवस्था फरक भइसकेको
कसरी बुझाऊँ बाटो तिम्रो हिँड्दा-हिँड्दै थाकेको ।
हो, तिमी कति सरल छ्यौ र अवोध छ्यौ,
त्यसैले होला दुनियाँको दाउपेच केही देख्दिनौ
बुझ पचाएझैँ गर्छ्यौ यदि भने तिमी महान छ्यौ,
त्यसरी नै महान् बन भनेर मलाई भन्न छोड्दिनौ ।
तिमीले देखेको मभित्र सोचेको जस्तो उत्साह छैन,
संसार जित्छु भन्ने हौसला त मलाई झन् छँदै छैन
हारिसकेँ म, थाकिसकेँ म, र पनि भन्न सक्दिनँ,
हेर न आमा तिमी, किन हो किन म बुझाउन सक्दिन ।
मौन रहँदा पहिलेका झैँ मभित्र ज्वारभाटा छन्, बुझ न
मलीन हुँदा अनगिन्ती मेरा भोक छन् महसुश गर न
आमा, उकुसमुकुस छन् मभित्र, मेरा व्यथाहरू हेर न
म त्यही छोरी हुँ आमा, उसैगरी पछ्यौरा तिमी फैलाऊ न ।
अरूको लागि जे भए नि तिम्रो त म पराई हैन
म यस्तो नदी बनेँ, किनारा दुईटै छोड्न सकिनँ
मलाई मेरो हालमा छोड अब त मैले भनेको छैन
मलाई मात्र बुझिदेऊ आमा, मैले गलत गरेकै छैन ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।