|

सर्लाही : आफ्नो जमिन मिचेर पोखरी खनेको विरोध गर्दा उल्टै मार्ने धम्की दिएको पर्सा गाउँपालिका–४​ का स्थानीयले आरोप लगाएका छन्।

जिल्लाको पर्सा गाउँपालिका–४ का गगन महतो सुडीले ईश्वरपुर नगरपालिका–१५ पोखरियास्थित निजी जग्गामा पोखरी खन्ने क्रममा सिमानामा रहेका किसानको जमिन मिचेर पोखरी खनेको भन्दै विरोध गर्दा सुडीले ज्यान लिने धम्की दिएको पीडित किसानहरूले आरोप लगाएका हुन्।

अहिले पोखरी छेउछाउका दर्जनभन्दा बढी स्थानीय किसान अन्यायमा परेका छन्।

पर्साका रामचन्द्र महतो सुडीका छोरा गगनले पोखरी विस्तार गर्दा आफ्नो जमिन जबरजस्ती मिचेर उठिवास गराएको र विरोध गर्दा मार्ने धम्की दिइरहेको पीडित किसानहरूले दाबी गरेका छन्।

१० वर्षअघि सुडीले रानीगञ्जका किसानसँग चार बिघा जग्गा किनेका थिए। उनले सो जग्गामा दुई वर्षदेखि माछा पोखरी खन्न सुरु गरे। उनले पोखरी खनेको माटो छिमेकीको जमिनमा थुपारिदिएका छन्। उनले त्यो जमिन निकै सस्तोमा आफूलाई विक्री गर्न बाध्य बनाए।

सुडीले कतिलाई थोरै पैसा दिएर त कतिलाई धम्क्याएरै जमिन आफ्नो बनाउने गरेको पीडितहरूले बताएका छन्। अहिले सुडीको पोखरी झण्डै ८ बिघाको भइसकेको छ।

सुडीले पोखरी खनेको माटो आफ्नो जमिनमा थुपारेको र आफूले हटाउन आग्रह गर्दा कुटपिट भएको पीडित मक्सुद अन्सारीले बताए। आफ्नो १० कट्ठा जग्गा जबरजस्ती हडपेको र बाँकी रहेको १५ कट्ठा जग्गा पनि हडप्न खोजेपछि विवाद भएको पीडित मक्सुदले बताए।

उनले आफूले पटक पटक सुडीको डोजर रोक्न खोज्दा डोजरले च्यापेर मार्ने धम्की दिएको बताए। सुडीजस्ता धनाढ्यको अन्याय सहनुपर्ने विडम्बना रहेको भन्दै मक्सुदले आफूहरूलाई न्याय दिलाई दिन सरकारसँग आग्रह समेत गरे।

किसान असिन अन्सारीले सुडीको ज्यादती सहन नसकेर सस्तोमै जग्गा बेचेका छन्। आफूलाई बाध्य बनाएपछि जग्गा बेचेको भन्दै उनले अहिले आफू सुकुमवासी भएको बताए। किसान सबीर अन्सारीको पनि पीडा उस्तै छ। उनको जग्गा पनि पोखरीमै गाभिएको छ।

आफ्नो जमिनमा पोखरी खनेको माटो थुपारेपछि बाध्य भएर बेच्नुपरेको भन्दै उनले आफूहरूको पीडा कसैले नसुनेको गुनासो गरे।

त्यस्तै सुडीले खनेको पोखरीका कारण हरिपूर्वाकी भुनीदेवी रामको पनि १० कट्ठा जमिन मिचिएको छ। उनले आफूले ५०औं वर्षदेखि भोगचलन गर्दै आए पनि पोखरीधनी सुडीले जबरजस्ती मिचेको भन्दै न्याय दिलाई दिन आग्रह गरिन्।

त्यस्तै पोखरियाका अर्का किसान तेजनारायण साह कानूको पनि जमिन पोखरीमा परेको छ। पोखरी वरपर दुईतीन ठाउँमा भएको जमिन पुरेको भन्दै तेजनारायण पनि सुडीले आफूहरूमाथि अन्याय गरेको बताउँछन्। उनले पनि ईश्वरपुर नपाको न्यायिक समितिमा सुडीविरुद्ध निवेदन दिएका छन्।

पोखरियाका सुलमान अन्सारीले सुडीले गरिब किसानमाथि अन्याय गरेको बताए। उनले न्यायका लागि प्रहरी प्रशासनले समेत वास्ता नगरेको गुनासो गरे। उनले गरिबको आवाज कसैले नसुन्ने भएकै कारण पोखरियाका किसान सुकुमवासी बन्न पुगेको बताए।

विवाद मिलाउन वडाध्यक्षले पटक पटक बोलाउँदासम्म सुडी नआएको ईश्वरपुर–१ का वडाध्यक्ष धर्मेन्द्र राय यादवले बताए। वडाध्यक्ष यादवका अनुसार छलफलका लागि प्रहरीले बोलाउँदा समेत अटेरी गरिरहेका छन्।

अहिले यो विवाद ईश्वरपुर नगरपालिकाको न्यायिक समितिमा पुगेको छ। न्यायिक समिति सदस्य ढुण्डीराज पोखरेलले सुडीविरुद्ध समितिमा उजुरी परेको पुष्टि गर्दै न्याय प्रक्रियामै रहेको बताए। उनले सुडीविरुद्ध उजुरीका विषयमा बुझ्न पटक पटक फोन गर्दा समेत नउठाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.