|

सिमकोट : हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण देखा परेको छ। शुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ।

लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा १२७ पशुबस्तु मरेका छन्। सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ गाईगोरु मरेका छन् भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली १३ गाईगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले जानकारी दिए। हाल लम्पी स्किन रोग जिल्लाभर महामारीका रूपमा फैलिएको उनले बताए। 

हुम्ला जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म एक हजार छ सय ३९ वटा गाईगोरु सङ्क्रमित भएका छन्। सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका ९२० गाईगोरुमा यो संक्रमण देखिएको छ। संक्रमित पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताए।

यस्तै संक्रमण देखिएका एक हजार ३७० गाईगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ। लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ। जिल्लाभर ४१ हजार चार गाईगोरु, तीन हजार २३४ भैँसी, ४० हजार ४२ भेँडा, एक लाख ३८ हजार ९३ बाख्रा, चौँरी सात हजार २४६ र एक हजार ८२० कुखुरा प्रभावित छन्। 

रोग नियन्त्रण बाहिर गइसकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमीले बताए।। हाल प्राथमिक उपचारदेखि औषधि प्रयोग गरिरहेको बताउनुभयो। उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार भएको पाइँदैन। यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन नभएको बुमीले बजानकारी दिए।

पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि हुम्लाका किसान चिन्तित भएका छन्। रोगबाट पशुवस्तु बिरामी भएर मर्न थालेपछि चिन्तित भएको सिमकोट गाउँपालिका–२ का डाङ्स्या रावलले बताए।

यो रोग जिल्ला बाहिर सुर्खेत नेपालगञ्जबाट ल्याइएका २४० वटा गाईमा पहिलोपटक देखापरेको थियो। ती गाई जिल्लाको दक्षिण अदानचुली, ताँजकोट हुँदै पैदल भएर सदरमुकाम सिमकोट ल्याइएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.