|

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिमा तरङ्ग आइरहेको बेला तीन शीर्ष नेताबीच निरन्तर भेटवार्ता भइरहेको छ।

तीन नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।  तीन शीर्ष नेताबीच संसदीय सुनुवाई समिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

पछिल्लो समय  प्रमुख तीन दलका शीर्ष नेताको भेटघाट बाक्लिएको हो। अघिल्लो सोमबार संवैधानिक परिषद् बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ। 

सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीविहीन छ। कांग्रेस-माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा छ।

यसैगरी प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने क्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरिसकेको छ। त्यसैगरी एमाले सचिव टोपबहादुर रायमाझिलाई पक्राउ पूर्जी जारी गरेको छ भने एमाले, कांग्रेस र माओवादीका नेता तथा उनीहरुका श्रीमती, छोराहरु पछिल्लो समयमा मुछिएपछि राजनीति वृत तरंगित बनेको छ। उनीहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छलफल हुने बताइएको छ।

पछिल्लो समय संसदमा समेत यो विषयले प्राथमिकता पाएका छन्। सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण, क्यान्टोनमेन्ट घोटाला, यति ओम्नि काण्ड, वाइडबडी लगायतका मुद्दाको छिनोफानो हुनुपर्ने तर्क गर्दै आएका छन्। नागरिकस्तरबाटपनि शनिबार भ्रष्टाचारको विरोधमा प्रदर्शन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.