काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगरभित्रका ६८ वटा स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी दिएपछि विपन्न उपचार सेवाको विषयले पुनः चर्चा पाएको छ।
तर नेपालकै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा भने विपन्नको फारम भरेपछि उपचार सेवामा छुट हुने गरेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार उपचारको लागि बिरामीले अस्पतालमा उपलब्ध विपन्नको फारम भरेपछि उपचारमा छुट हुने व्यवस्था रहेको छ।
वीर अस्पतालले सामाजिक सुरक्षा एकाइमार्फत विपन्नलाई उपचार सेवा दिँदै आएको हो। उपकुलपति प्राडा बस्नेतका अनुसार विपन्नलाई उपचार दिनैको लागि अस्पतालको सामाजिक सुरक्षा एकाइमा १० जना कर्मचारी रहेका छन् उनीहरुले अस्पतालमा आएका विपन्न नागरिकलाई उपचार सेवा लिन सहयोग गर्ने गर्छन्।
यसरी लिन सकिन्छ वीरमा विपन्न उपचार सेवा
वीर अस्पतालमा उपचार गराउन जाने कुनै पनि बिरामीले उपचारको शुल्क तिर्न नसकेको अवस्थामा अस्पतालको सामाजिक सुरक्षा एकाइमा पुगेर विपन्न उपचार सेवा पाउँ भनेर फारम भर्नु पर्छ। त्यसपछि सो फारम अस्पताल निर्देशकले सदर गरेपछि बिरामीले आफूले चाहेको सेवा निःशुल्क हुने गर्छ।
‘विपन्न उपचार सेवा पाउँ भनेर फारम भरेपछि बिरामीको अवस्था हेरेर कति प्रतिशत सेवा निःशुल्क पाउने भन्ने व्यवस्था हुन्छ। बिरामीको अवस्था हेरेर हामीले पूर्ण र आंशिक सेवा निःशुल्क गर्ने गरेका छौँ, कसैले ल्याब र कसैले बेड र अन्य सेवामा सहुलियत लिने गर्नु हुन्छ‚’ न्याम्सका निमित्त भिसी डा बस्नेतले भने।
अस्पतालमा विपन्न सेवाबाट सेवा लिनको लागि विपन्न हुँ भनेर कुनै पनि परिचय पत्र देखाउन नपर्नेसमेत डा बस्नेतले बताए।
‘केहीले त आफैले स्थानीय तहबाट सिफारिस लिएर आउनु हुन्छ तर हामीले बिरामीको अवस्था हेरेर विपन्नको कुनै पनि परिचय पत्र बिनै सेवा दिने गरेका छौँ किनकि कतिपय अवस्थामा बिरामीको अवस्था हामीले हेरेरै पनि अनुमान गर्न सक्छौं‚’ डा बस्नेतले भने।
वीरमा विपन्न बिरामीको प्रायःसबै सेवा निःशुल्क जस्तै हुने हुँदा विपन्नको लागि भनेर छुट्टै बेड भने नछुट्याइएको समेत उनले बताए।
विपन्न सेवामा अस्पताल सामाजिक सुरक्षा एकाइमार्फत दिने सेवामा निःशुल्क उपलब्ध गराउने सेवाहरूमा चिकित्सक परामर्श सेवा, नर्सिङ्ग सेवा, अक्सिजन, सबै प्रकारका डाईग्नोष्टिक सेवा (रेडियोलोजी सेवा, प्याथोलोजी सेवा) रहेका छन।
'धेरै जस्तो प्रयोगशाला सेवाको लागि विपन्न उपचार सेवामार्फत सेवा लिने गर्नु हुन्छ तर हामीले बेडको शुल्कमा समेत विपन्नलाई सेवा दिने गरेका छौँ‚' डा बस्नेतले भने।
यता सरकारले २०७३ पुस १ गतेदेखि सबै निजी अस्पतालमा गरिब, अपाङ्ग, एकल महिला, असहाय, ज्येष्ठ नागरिक, विपन्नका लागि १० प्रतिशत छुट दिने भन्दै अनिवार्य रुपमा कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।