|

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व स‌कलन गरेको छ।

आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व स‌ंकलन भएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ। राजस्व स‌कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८‍.८७ प्रतिशत हासिल गरेको जनाएको छ। महानगरपालिका चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड रुपैयाँ उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी रहेको विभागले जनाएको छ। 

विभागका अनुसार आव २०७८/७९ मा महानगरले तीन अर्ब ७२ करोडमात्रै आन्तरिक आय स‌ंकलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो। यस्तै सम्पत्ति करमा  ९१ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जुन अघिल्लो आवको भन्दा १२ करोडले बढी भएको जनाइएको छ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँड भएर आउने रकमले असर परेको देखिएको छ। यसैगरी महानगरले बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख रुपैयाँ जम्मा गरेको छ। राजस्व बाँडफाँड पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झण्डै एक अर्बले कमी भएको देखिन्छ। गत आव २०७८/७९ मा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम रु एक अर्ब ७५ करोड ५४ लाख थियो, जनु १०६ प्रतिशत रहेको थियो। तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँड भएको हो।

गत आवमा रु दुई अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँडबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म दुई अर्ब ७५ करोड ५४ लाख रुपैंयाँ अर्थात् १०६ प्रतिशत बाँडफाँड भएको थियो। तर चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामाएक अर्ब ५५ करोड ८९ लाख रुपैयाँमात्रै उठेको हो।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँड हो। विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँड भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बताए।

राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ एक अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्व जम्मा भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.