|

दैलेख : दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोही ठाउँमा निमार्णाधीन रहेको भित्रीखोला सिंचाइ योजनाको ड्याम भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु दैलेख प्रहरीले जनाएको छ।

आठबिस नगरपालिका–५ का वडा अध्यक्ष बजिरसिंह विकले ड्याम भत्किँदा अन्य ६ जना बालबालिका घाइते भएका बताए । ‘ड्याम भत्किँदा एक जनाको मृत्यु भएको छ, अन्य ६ जना घाइते भएका छन्, घाइते मध्ये १३ वर्षका किरण बुढा मगर सिकिस्त छन्,’ वडाध्यक्ष विकले भने।

निमार्णाधीन अवस्थामा रहेको ड्याम बर्सातका कारण भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर आठबिस नगरपालिका–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको आज दिउँसो ५ बजेतिर मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

प्रहरी प्रमुख लम्सालले आठविस–५ का वडा अध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुङ्गा लागेर बालकको मृत्यु भएको जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको बताए। उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए।

‘रातिको समयमा प्रहरी घटनास्थल पुग्न सक्ने अवस्था छैन, पानी परेका कारणले समस्या छ, ड्यामबाट खसेको डुङ्गा लागेर एक जना बालकको मृत्यु भएको सूचना पाएका छौं, प्रहरी घटनास्थलमा भोलि बिहान मात्रै पुग्छ होला’, प्रहरी प्रमुख लम्सालले भने।

आठबीस नगरपालिकाका नगर प्रमुख तर्कबहादुर बडूवालले नगरपालिका ४ र ५ मा पर्ने पिपलकोट, सिङगौडीको बीचमा घटना भएको जानकारी पाएको बताए। उनले आफू बाहिर रहेकाले केही समयअघि मात्र आठविस आइपुगेको बताए।

निर्माणाधीन ड्याम बर्सातका कारण भत्किएको दैलेख प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.