|

म्याग्दी : सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै पुगेर धान रोपाइँमा सहभागी भई  धान रोप्ने तरिका र किसानको परिश्रम दुवैलाई राम्रोसँग सिकेका छन्। कक्षाकोठामा प्रायः सैद्धान्तिक सिकाई गर्ने उनीहरूले खेतमा भने व्यवहारिक जीवन उपयोगी शिक्षा प्राप्त गर्न पाएको बताएका छन्।

शुक्रबार असार १५ को अवसरमा विद्यालयले मंगला गाउँपालिका-५ छिसवाङमा रोपाइँ कार्यक्रम गरेको थियो। मंगला गाउँपालिकाले आयोजना गरेको रोपाइ कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १० सम्मका ९२ जना विद्यार्थीहरू सहभागि भएका थिए।  रोपाइँमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिकाहरू पनि रमाइरमाई खेत रोपाइमा सहभागी भएका के. वि एकेडेमीका शिक्षक हिरा सिउथानी मगरले जानकारी दिए। 

छात्राहरूले बीउ काड्ने र रोप्ने गरेका थिए भने छात्रहरूले रोपाइँका लागि बाउसे गर्न र खेत हिल्याउन सिकेका सामाजिक विषयका शिक्षक सिउथानीले बताए।  बाउसे गरेपछि छात्रहरूले समेत रोपाइँ थालेका थिए। यसअघि उनीहरूले रोपाइँ गर्न चाहिले धानको बीउ ब्याडमा गएर उखेलेका शिक्षक सिउथानीले बताए।

यो सबै कामका लागि विद्यार्थीहरूलाई शिक्षकशिक्षिकाहरूले सहयोग गरेका थिए। शिक्षकशिक्षिकाहरूले उनीहरूलाई कामका साथै कामका लागि प्रयोग हुने औजारहरूका बारेमा समेत जानकारी गराएको विज्ञान विषयका शिक्षक बलराम श्रेष्ठले जानकारी दिए।

‘सधैँ कक्षामा बसेर सिक्थ्यौ तर आज चाहिँ खेतमा पुगेर सिकियो’, कक्षा ९ का छात्र साहिल पुनले भने,‘किताबबाट मात्रै होइन रहेछ सिक्ने भनेको,यस्तै फिल्ड वर्कबाट पनि धेरै कुरा सिक्न सकिनेरहेछ।’

विद्यार्थीलाई धानको बीउ राख्नेदेखि धान काटेर चुट्नेसम्मको विधि सिकाइएको अर्का शिक्षक मिनबहादुर सुनारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.