|

लुम्बिनी : लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानी खतराको तह पार गरेको छ।

गएरातिदेखि रूपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। मंगलबार बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह सात दशमलव २२ मिटर पुगेको छ। महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ।

तिनाउ नदीको जल सतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रूपन्देही प्रहरीले जनाएको छ। तिनाउलगायत रूपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। 

जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.