|

काठमाडौं : पछिल्लो वर्ष नेपाली श्रमिकका लागि मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको छ। चालु आर्थिक वर्षको साउनदेखि असार १६ सम्म वैदेशिक रोजगारीका लागि सात लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएकामा दुई लाख ५१ हजार २८५ जना (३४ प्रतिशत) को हिस्सा मलेसियाले लिएको छ । 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कतार दोस्रो श्रम गन्तव्य देश बनेको छ भने तेस्रो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ । 

सो अवधिमा कतारले एक लाख २७ हजार ४१९ जना (१७ प्रतिशत), संयुक्त अरब इमिरेट्स (यूएई) ले एक लाख १० हजार १८४ जना ९१५ प्रतिशत० र साउदी अरबले एक लाख आठ हजार ४४५ जना (१५ प्रतिशत) को हिस्सा ओगटेको छ । सो अवधिमा ४० हजार ५०८ जनाले कुवेतका लागि श्रम स्वीकृति लिएका छन् भने दक्षिण कोरियाका लागि २० हजार ६०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

बाँकी जापान, माल्टा, जोर्डन, साइप्रस, माल्दिभ्सलगायत ५२–५३ देशमा श्रम स्वीकृति लिएर गएका छन्। विभागका निर्देशक गुरुदत्त सुवेदीले नेपालबाट रोजगारीका लागि ११० देशमा श्रम स्वीकृति दिने गरेको भए पनि झन्डै ८५ प्रतिशत हिस्सा मलेसिया र खाडीले ओगटेको जानकारी दिए। निर्देशक सुवेदीका अनुसार वैदेशिक रोजगारीका लागि नेपाली सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक गइरहेका छन्। अघिल्ला वर्षको तुलनामा पछिल्लो वर्ष युरोपका क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानिया जस्ता देशमा जानेको सङ्ख्या पनि बढ्दो रहेको उनले बताए।

चालु आवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आठ लाख पुग्ने अनुमान गरिएको छ। चालु आवको साउन १ देखि असार १६ सम्म सात लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अहिलेसम्मकै धेरै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.