काठमाडौं : आफ्नो स्वरको माध्यमले सामाजिक र सांस्कृतिक जागरणमा सक्रिय कलाकार एवं राजनीतिककर्मी वरिष्ठ गायिका पवित्रा घर्तीसँग भएको रेडियो सम्वाद :
राजनीतिमा पनि हुनुहुन्छ, बढी राजनीति कि कलाकारिता?
म कलाकार भएर आएको। सिंगो जीवन यसैमा बिताएको छु तर नेकपा एमालेको जनवर्गीय संगठन जनसांस्कृतिक मञ्चमा थिए। पछि जनसांस्कृतिक महासंघको अवधारणा आयो, प्रगतिशील गीतसंगीतको काममा जीवनको लगानी भयो।
२०४७ सालदेखि जनकलाकारको भूमिका निर्वाह गरेको हुँ। खै? के भन्ने हो। राजनीति पनि कलाकारिता पनि सँगसँगै रह्यो।
अहिले कुन पार्टीमा हुनुहुन्छ? जिम्मेवारी के के छ?
नेकपा एमाले हुँदा राप्ती–काठमाण्डौ सम्पर्क मञ्चको सहसचिव थिएँ। माओवादी र एमाले मिलेर नेकपा बनेपछी,लुम्बीनी–काठमाण्डौं सम्पर्क मञ्चको सचिवालय सदस्य भएँ। अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा रोल्पा जिल्लाको सह–इन्चार्ज छु।
तपाईंको जन्मठाउँ कहाँ हो?
रोल्पाको साविक बुढागाँउ गाउँ विकास समिति हालको त्रिवेणी गाउँपालिका हो।
कलाकारितामा अचेल कत्तिको सक्रिय हुनुहुन्छ?
कलाकारिता पनि छोडेको छैन। यो मेरो रहरको क्षेत्र पनि भएकाले गीत गाउने, लेख्ने काम पनि गरिरहेको छु। भर्खरै एक दुइटा गीतहरु रेकर्ड भएका छन्। एउटा गाउँपालिकाको गीत पनि रेकर्ड भएको छ।
पहिला जस्तो राजनीतिमा पनि मेची–महाकालीको दौडाह छैन। गीतमा पनि पहिलाको जस्तो चापाचाप छैन।
कसरी कलाकार बन्नुभयो?
मेरो बुबा धनवीर घर्तीमगर स्थानीय कलाकार हुनुहुन्थ्यो। अहिले बुबा बितेको दुई वर्ष भयो, बुबाले जोडेका दमाहा, ट्याम्की, ठूलाठूला मादलहरु, पैजनलगायत सबै सांस्कृतिक सामग्री बुबाको सम्झनामा राखिराखेका छौं।
बुबाको त्यो प्रेरणासँगै म स्कुलमा पनि सानैदेखि गाउने गर्दथेँ। मेरो आदरणीय गुरु कुलानन्द गिरी हुनुहुन्थ्यो। उहाँ चित्र कोर्ने, मूर्ति बनाउने, नाच्ने गाउने सबै किसिमका बाजागाजा बजाउने साथै राम्रो पढाउने।
उहाँले अंग्रेजी, विज्ञान जस्ता विषय पढाउनुहुन्थ्यो। उहाँकै नेतृत्वमा हामीले जिल्ला हुँदै क्षेत्र र राजधानीसम्मै आएर पहिलो पुरस्कार जितेर लगेका छौँ।
२०४२-४३ सालतिरै होला म १२-१३ वर्षको थिएँ। दोलखा, काठमाण्डौ, वीरगञ्जमा भएको प्रतियोगीतामा गाउनेमा प्रथम भएर पुरस्कार लगेको थिएँ। सबै कार्यक्रममा आदरणीय गुरु कुलानन्द सरको नेतृत्व रहेको थियो। पहिला १४ अञ्चलका १÷१ जिल्ला गरेर चौधवटा जिल्लाको प्रतियोगीता हुन्थ्यो, राप्तीबाट रोल्पाको पालो परेको बेलामा जहिले पनि प्रथम हुने हामी हुन्थ्यौं। पृथ्वी जयन्ती, राष्ट्रिय प्रजातन्त्र दिवस लगाएतमा हुने प्रतियोगीताले मलाई कलाकार बन्न प्रेरणा थपिएको हो।
रेडियो नेपालमा चैँ गीत गाउनुभयो कि भएन?
सायद २०४३ सालमै होला, राष्ट्रव्यापी प्रतियोगितामा भाग लिन आउँदा चर्चित कार्यक्रम ‘चौतारी’ मा गीत गाउने अवसर पाएको थिएँ पाण्डव सुनुवार, युक्त गुरुङ लगायतको हौसला मैले पाएको थिएँ, सानो उमेरको तर सिपालु भएको हुनाले मलाई सबैले जिरे खुर्सानी भनेर भन्थे।
गीत–‘त्यो माडी खोलाले छेकेको होइन, मलाई छेक्यो मायालु त्यो तिम्रै मायाले’ भन्ने थियो, गुरु आदरणीय कुलानन्द गिरी सरको संकलन थियो। बेलाबेलामा रेडियो नेपालमा धेरैपटक गीत रेकर्ड गराएको छु।
अरू जागिर खानुभयो कि भएन?
स्टाफ नर्स बन्ने ठूलो धोको थियो। त्यही धोको पूरा गर्न रोल्पा छोडेर दुई दिन पैदल हिँडेर दाङबाट बस चढेर काठमाण्डौ आएको। खै? मलाई समयले कहाँ–कहाँ पुर्यायो। स्टाफ नर्स बन्न आएको, अहिले अलिअलि कलाकार बनेँ अलिअलि राजनीति गर्ने पनि भएँछु।
स्टाफ नर्स बन्न नसके पनि मैले एएनएम सम्मको पढाइ सकेर साढे चार वर्ष मेरी स्टोपको जागिर पनि खाएँ। सांस्कृतिक संस्थानको सदस्य भएर पनि काम गरेँ। प्रज्ञा प्रतिष्ठानको नियुक्त पनि खाएँ । दोस्रो संविधानसभामा समानुपातिकको सूचीमा परेँ। बन्द सूचीमा परेको भए पनि माननीय बनाउने बेलामा मलाई पार्टीले छानेन। छाननीय र माननीयमा पर्न नसकेको हुँ म।
माननीय हुन नपाएको गुनासो रह्यो?
त्यो खालको गुनासो त होइन, मैले पार्टीमा बेस्सरी काम गरेको थिएँ जस्तो लाग्दथ्यो तर पार्टीको नजरमा परिएन छ। काम मात्र गरेर हुने रहेनछ उपल्ला मान्छेलाई रिझाउन पनि पर्ने रहेछ कि क्या हो भन्ने प्रश्न चैँ मनमा उब्ज्यो।
त्योपछि कुनै अवसर आएन निर्वाचित हुने?
पछिल्लो निर्वाचनमा मेरो पार्टी एकीकृत समाजवादीको तर्फबाट पनि समानुपातिकको सूचीमा परेको थिएँ। तर, दुर्भाग्य होला झिनो मतको कारण हाम्रो पार्टीले समानुपातिकको आवश्यक प्रतिशत पुर्याउन नसकेर मैले त्यो अवसर पाइनँ।
तपाईंका गीत कस्ता–कस्ता र कति छन्?
मेरो स्वरमा विभिन्न प्रकारका गीत गरेर पाँच सयको हाराहारीमा रेकर्ड भएका होलान्। लोकगीत, प्रगतिशील, भाषाभाषी, स्वदेशगान र अन्य चलनचल्तीका गीत गाएको छु।
अचेल गाउन छोड्नुभएको?
केही गीत लेखेर राखेको छु, केही गीत रेकर्ड पनि भएका छन्। राजनीतिक जिम्मेवारी बढ्दा गायनमा अलि कम भएको हो।
गीत रेकर्ड गराउन पहिलेको भन्दा निकै महँगो भएको छ। पहिला बीस पच्चिस हजारमा एउटा गीत रेकर्डको सबैकाम सकिने गरेको थियो। भिडियो पनि आवश्यक छ, हामी जस्तो सांस्कृतिक र विशुद्ध सचेतनाको गीत गाउनेकोलागी यो समयअनुकूल छैन।
तपाईं व्यावसायिक कलाकार बन्नुभएन?
धेरै पहिला छोटो समय व्यावसायिक कलाकार थिएँ अहिले छैन। प्रगतिशील कलाकार भएपछि, मायाप्रेमको बर्जुवा गीत नगाउने भन्ने थियो। मलाई धेरै राम्रा–राम्रा गीत गाउने अवसर आउँथे त्यो छोडेर मेरो सम्पूर्ण जीवन पार्टीलाई लगानी गरेको हुँ।
राजनीतिमा लागेर सचेतनाकै गीत गाएर हिँडियो व्यावसायिक कलाकार भइएन। पैसाको लागि गीत गाइएन भनौँ न।
कलाकारलाई राजनीति चाहिन्छ?
राजनीति सबैलाई चाहिन्छ। कसैले राजनीति गर्ने गरेका छन्, कसैले गर्दैनन्। राजनीतिलाई माथि उचालेको कलाकारले हो। कलाको आडमा राजनीतिले पनि सफलता पाएको हुनाले कलाकारले राजनीति गर्न हुँदैन भन्ने लाग्दैन।
तर कलाकार नेतालाई सत्तामा पुग्ने भर्याङ मात्र भयो भन्ने गुनासो छ नि?
कलाकार र राजनीति फरक छ। राजनीतिको वातावरण कलाकारले बनाउने हो तर राजनीतिले सफलता पाएको दिनै कलाकारलाई बिर्संदै जाँदा रहेछन्।
मेरो के कुरा गर्नु जेवी टुहुरे, रामेश जस्ता महान् मान्छेको त उचित कदर भएन। प्रगतिशील गीत गाउने कलाकारको पीडा बेग्लै छ।
संगीतको आधिकारिक पढाइ गर्नुभयो कि भएन?
मैले भोकल काठमाण्डौमा आएर सिकेको। गीतसंगीतको औपचारिक पढाइ आरआर कलेजबाट आई म्युजिक गरेको छु। तर, मास्टर्स मैले राजनीतिशास्त्र र समाजशास्त्रबाट गरेको हुँ।
सफल भको छु जस्तो लाग्छ कि लाग्दैन?
म सफल भएको छैन, सफल हुन धेरै बाँकी छ। मौलिक गीतहरू रेकर्ड गराउने धोको छ। हाम्रो गाउँठाउँमा रहेका, हराउन लागेका गीतहरु खोजेर राख्न पाए हुने। म सफल हुने नहुनेभन्दा पनि हाम्रो देश सफल हुनुपर्यो।
अब, हाम्रो समाजका लागि कस्ता गीत गाउन आवश्यक छ?
देशमा भएको भ्रष्टाचारलाई अन्त्य गर्न सचेतना बढाउने गीतहरु गाउनुपर्दछ। समानताका गीतहरु झनै धेरै गाउनु पर्दछ। अव नेतालाइ मात्र घचघच्याउने गीत होइन नागरिकलाई सधैँ जागरूक राख्ने गीतहरु पनि थप आवश्यक छ।
सांस्कृतिक जागरणको माध्यमले यो भ्रष्टाचारलाई शून्यमा झार्नुपर्दछ। आवाज र कलमको माध्यमले नागरिक जागरण ल्याउनुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।