|

चन्द्रौटा : गत वर्षभन्दा यो वर्ष कपिलवस्तुमा आँपको उत्पादन घटेको छ। जिल्लामा गत वर्षभन्दा १० प्रतिशत कम उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्र कपिलवस्तुले जनाएको छ।

आँपको मञ्जरी विगतका वर्षभन्दा बढी फुले पनि मधुवा कीराका कारण फल लाग्न नसकेको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताए। जिल्लामा विगतमा भन्दा धेरै क्षेत्रफलमा आँप खेती गरे पनि उत्पादन भने कमी भएको छ।

यो वर्ष कपिलवस्तुमा १ हजार ४५० हेक्टर क्षेत्रफलमा १२ हजार टन आँप उत्पादन भएको कृषि ज्ञानकेन्द्र कपिलवस्तुले जनाएको छ।

गत वर्ष १ हजार ४२० हेक्टरमा १३ हजार टनभन्दा बढी आँप उत्पादन भएको थियो। समयमा पानी नपर्दा सोचे जस्तो आँप उत्पादन नभएको प्रमुख चौबेको भनाइ छ। जिल्लाको कृष्णनगर, यशोधरा, महाराजगञ्ज, मायादेवी, शिवराज, विजयनगर लगायत स्थानमा आँप बगैंचा रहेका छन्।

विगतका यसै समयमा ६० रुपैयाँमा पाइने आँप अहिले बजार प्रतिकिलो १ सय पुगेको छ।

शिवराज नगरपालिकामा ७५ हेक्टरमा व्यावसायिक रूपमा आँप उत्पादन भएको कृषि विकास शाखा प्रमुख ताराचन्द चौधरीले बताए। नगरमा यो वर्ष ५ हजार ५ सय क्वीन्ट उत्पादन भएको चौधरीको भनाइ छ। विगतको भन्दा उत्पादन घटेकाले मूल्य बढेको उनले बताए।

‘यहाँ रहेका बगैंचा बाहिरका व्यवसायीले ठेक्कामा खरिद गर्ने भएकाले पनि मूल्य बढेको छ’, चौधरीले भने, ‘समयमा पानी नपर्दा, फूलमा लागेका कीराले गर्दा यस वर्ष उत्पादन कम भयो। कीराबाट बचाउन कृषि प्राविधिकहरूले विभिन्न परामर्श समेत दिएको चौधरीले बताए।

हावाहुरी तथा कीराका कारणले आँपको दाना हुन नसक्दा सोचेजस्तो उत्पादन नभएको स्थानीय कृषक राहुल पाण्डेले बताए। यो वर्ष आँप जोगाउन धेरै मुस्किल परेको उनको भनाइ छ।

‘कहिले कीरा लागी हैरान पारेको छ, कहिले पानी नपरेर समस्या भयो’, पाण्डेले भने, ‘धेरैपटक विषादी छर्केर केही भए पनि बचाएका हौँ, नत्र सबै सखाप हुन्थ्यो।’ कपिलवस्तु लगायत तराईका जिल्लामा आँप उत्पादन गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.