|

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक रोबोटिक न्युरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ। बिरामीको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ।

ब्रेन ट्युमर र नसाको शल्यक्रिया प्रभावकारी बनाउन महत्वपूर्ण रहेको अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको केएमसीको न्युरो विभागका प्रमुख एवं वरिष्ठ न्युरो सर्जन प्राडा अमित थापाको दावी छ।

‘यस्तो अत्याधुनिक माइक्रोस्कोप नेपालका कुनै पनि अस्पतालमा प्रयोगमा थिएन, नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको हो,’ उनले भने, ‘अप्रेशन सुरक्षित र भरपर्दो बनाउन यो माइक्रोस्कोप निकै उपयोगी हुन्छ।’

सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ। जर्मनीबाट ६ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर छन्।

रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा काम गर्छ। यसको सहायता लिएर अप्रेसन गर्दा डाक्टरलाई अप्रेसन गर्न सजिलो हुने, अप्रेसन छिटो हुने र बिरामीलाई पनि जोखिम कम हुने डा.थापाको भनाई छ।

गत वर्ष ‘रोबोटिक सर्जरी’ थालेको केएमसीले एक महिनाअघि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको थियो।

टाउको नखोली सानो प्वाल बनाएर अप्रेसन गर्ने, दूरबिनको प्रयोगले ढाडको नशा च्यापिएको खोल्ने र चिप्लेको हाडलाई स्क्रुले आफ्नो ठाउँमा मिलाउने, दूरबिनको प्रयोगले प्वालमार्फत टाउकोभित्र जमेको रगत निकाल्ने जस्ता सेवा पनि केएमसीले दिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.