|
फाइल तस्वीर ।

पर्वत : पर्वतवासीले पिउँदै आएको ४० प्रतिशत पानी पिउनका लागि अयोग्य रहेको स्वास्थ्य कार्यालय पर्वतले गरेको सर्वेक्षणले देखाएको छ।

स्वास्थ्य कार्यालय पर्वतले आफूले गरेको सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा कार्यालय प्रमुख सन्तोष पौडेलले जिल्लाका सातवटै स्थानीय तहमा पुगेर लिइएका पानीका करिब २ सय नमुनामध्ये ७२ वटा नमुनामा मानिसलाई झाडापखाला हुने ‘इ-कोली’ जीवाणु भेटिएको छ। 

परीक्षणका लागि पानीको नमुना लिने क्रममा पानीको मुहान, सङ्कलन गर्ने ट्याङ्की र धाराबाट खसेको वा गाग्रीमा राखिएको पानी गरेर एकै स्रोतका ३ फरक फरक नमुना लिइएको थियो। 

पौडेलका अनुसार महाशिला गाउँपालिकाका १० वटा आयोजनाबाट ३० ओटा नमुना सर्वेक्षण गर्दा सातवटा मुहानको पानीमा ‘इ-कोली’ भेटिएको छ भने २३ वटा मुहानको पानी पिउनयोग्य पाइएको छ।

पैयुँ गाउँपालिकाका ९ वटा आयोजनाका २७ वटा नमुनामध्ये १५ वटा मुहानको पानीमा ‘इ-कोली’ पाइएको छ। त्यहाँका १२ वटा मुहानको पानी पिउनका लागि योग्य रहेको परीक्षणले देखाएको छ। 

बिहादी गाउँपालिकाका ६ वटा आयोजनाका १८ नमुनामध्ये १० वटामा ‘इ-कोली’ पाइएको छ। फलेवास नगरपालिकाका ४ वटा आयोजना र एक विद्यालयका गरी १५ वटा नमुनाको परीक्षण गर्दा ८ वटामा, जलजला गाउँपालिकाका ७ वटा आयोजनाका २३ वटा नमुनामध्ये ७ वटामा, कुश्मा नगरपालिकाका ५ वटा आयोजनाका २७ वटा नमुनामध्ये ८ वटामा तथा मोदी गाउँपालिकाका ९ वटा आयोजना, एउटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयको गरी कुल ३५ वटा नमुना परीक्षण गर्दा ९ वटामा ‘इ-कोली’ पाइएको छ।

आफूहरूले पानीको परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गरेपछि यसका सरोकारवाला निकायहरूले पानीको अवस्थामा सुधार ल्याउन कामहरू गर्नुपर्ने उनले बताए। 

कतिपय सरोकारवाला निकायहरूले स्वास्थ्य कार्यालयले नै पानीको शुद्धीकरण गर्नुपर्ने भन्ने बुझेको भन्दै उनले कार्यालयले परीक्षण गरेर पानीको अवस्थाका बारेमा थाहा दिने काम आफूहरूको भएको दाबी गरे।

अहिलेको समयमा पनि मानिसको दिशामा हुने जीवाणु ‘इ-कोली’ पानीमा भेटिनुले हाम्रो स्वास्थ्य अवस्था चुनौतीपूर्ण रहेको पौडेलको भनाई छ।

करिब ४० प्रतिशत रोग पानी वा यसको कुनै सम्पर्कबाट सर्ने भएकाले स्वास्थ्यको आधारभूत पहुँचका लागि पनि सबैभन्दा पहिले शुद्ध पानी पिउन पाउनुपर्ने उनले बताए। 

पानीको मुहानमा झरेर पातपतिङ्गर कुहिएर, पानीको मुहानमा मानिसको दिशा मिसिएर वा कहिलेकाहीँ प्राकृतिक रूपमा पनि पानीमा ‘इ-कोली’ को मात्रा देखिने पानीको परीक्षणमा संलग्न प्राविधिक दीपा केसीले बताइन्।

पानीमा पाइने ‘कोली फर्म’ र ‘इ-कोली’ दुवैले मानिसमा झाडापखाला हुने भएकाले सकेसम्म मुहानबाट घरसम्म आउने पानीलाई मुहानदेखि नै शुद्धीकरण गरेर वा त्यो सम्भव नभएमा परिवारले घरमा नै शुद्धीकरण गरेर मात्रै पानी पिउनुपर्ने उनको सुझाव छ।

परीक्षणको क्रममा जिल्लामा सबैभन्दा शुद्ध पानी शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले वितरण गर्दै आइरहेको पानी भएको पाइएको छ। 

संस्थाले बाराको अमलेखगन्जबाट ल्याएको बालुवा प्रयोग गरेर ‘स्लो स्यान्ड फिल्टर’ प्रविधिबाट पानीलाई शुद्ध बनाउने गरेको पाइएको छ। संस्थाले वितरण गर्दै आइरहेको पानी सदरमुकाम कुश्मा बजारका विभिन्न स्थानका करिब २ हजार ६ सय घरले प्रयोग गर्दै आइरहेका छन्। 

शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जस्तै करोड बढीको लगानीमा पानीलाई शुद्ध बनाउने प्रविधिको जडान गर्न नसकेपछि २०/२५ लाख अरू प्रविधिको प्रयोग गरेर शुद्ध बनाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.