|

काठमाडौं : केही महिनाअघिसम्म अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दूध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको छ।

गाईबस्तुमा लागेको ‘लम्पी स्किन’का कारण दूध उत्पादन घटेको छ, तैपनि डेरीवालासँग बढी भएको दूध कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ,नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन हुन्छ। अहिले पशुमा लागेको रोगका कारण ५० लाख लिटरमा झरेको छ। यसले यति वेला दूधको हाहाकार हुनुपर्ने थियो तर अहिले तीन लाख लिटरभन्दा बढी दूध बढी भइरहेको छ, जसलाई व्यवस्थापन गर्न डेरीवालालाई धौ–धौ परिरहेको छ। 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार अहिले नेपालमा दैनिक तीन लाखभन्दा बढी लिटर दूध धेरै भइरहेको छ। उनले बढी भएको दूधलाई कसरी व्यवस्थापन गर्ने चिन्ता भइरहेको बताए। ‘सिजनमा दूध बढ्ने होइन, दूध घट्नुपर्ने हो तर एक्कासि दूध बढेर आएको छ’, उनले भने, ‘त्यसलाई खपत गर्न धौधौ परेको छ।’ 

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव पनि यो दूधका लागि सुक्खा सिजन भएको बताउँछन्। यो सिजनका लागि डेरीवालाले धुलो दूध बनाएर राख्थे र दूध कम भएका बेला धुलो दूध प्रयोग गर्थे तर अहिले बजारमा अत्यधिक बढी देखिएको छ। 

‘हामीले सामान्य अध्ययन गर्दा चार कारणले दूध बढी भएको छ, उपभोक्ताको क्रयशक्ति घटेका कारण धेरैले दूधमा कटौती गरेका छन्’, उनले भने, ‘अर्को कारण, लम्पी स्किन हो, किसानका घरमा गाईबस्तुमा यदि रोग लागेको छ भने त्यो दूध आफैँ नखाएर बजारमा नै पठाउने गरेका छन्। तेस्रो कारण, भारतबाट दूध अवैध रूपमा अत्यधिक आउन थालेको छ र चौथो कारण धुलो दूधको प्रयोग।’ 

नेपालमा ६५ रुपैयाँ  पर्छ भने भारतको विहारमा प्रतिलिटर भारु ३४ मा दूध पाइन्छ। भारतभन्दा नेपालमा १० रुपैयाँ महँगो भएका कारण सीमावर्ती क्षेत्रका भारतीय किसानले नेपालमा आएर दूध बेचिरहेका कारण नेपालमा दूध अत्यधिक भएको सरोकारवाला बताउँछन्।

भारतमा दूध सस्तो पाइन्छ भनेर केही डेरीवालाले सीमा क्षेत्रमा संकलन केन्द्र खोलेका छन्। त्यहाँ भारतीय दूध अवैध रूपमा खरिदबिक्री हुन्छ। केही डेरीवालाले त नेपालको दूध खरिद गर्न नै छाडिसकेको गुनासो आइरहेको छ।  

नेपालमा उत्पादन हुने दूधमध्ये ५० प्रतिशत किसान आफ्नै घरमा खपत गर्छन्। बाँकी ५० प्रतिशत दूध बजारमा जान्छ। किसानले आफैँ खपत गर्ने गरेको दूध पनि अहिले बजारमा आउन थालेको छ। 

‘जसको गोठमै गाई बिरामी परेका छन्, त्यसले लगभग दूध खान छाडी नै सकेका छन्। त्यो सबै दूध बजारमा आउन थालेको छ’, उनले भने, ‘त्यसैले गर्दा दूधको फ्लो अलि बढी नै भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.